मस्तिष्क घातबारे जान्नै पर्ने कुराहरू



मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्क घात भनिन्छ। मस्तिष्क घात भएका अधिकांश बिरामीलाई पक्षघात पनि हुने हुँदा यो रोगलाई पक्षघात, प्यारालाइसिस, लकुवा, अधरंग, ब्रेन एट्याक र ब्रेन स्ट्रोकजस्ता नामले पनि सम्बोधन गरिन्छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर हरेक वर्ष १ करोड ४० लाख मानिस मस्तिष्क घातको सिकार हुन्छन्। यसमध्ये ६५ लाख मानिस यही रोगका कारण यो लोक छोड्न बाध्य छन् भने ५० लाख विकलांग भएर नारकीय जीवन जिउन बाध्य छन्। बाँकी रहेकामध्ये १५ लाख चिकित्सकीय सेवापश्चात् सामान्य जीवनमा फर्किएका छन् भने २५ लाख सामान्य विकलांगताका साथ बाँचिरहेका छन्। अप्रत्याशित रूपमा अपर्भmट हुने, तत्कालै ज्यान जान पनि सक्ने र बाँचिहाले पनि अधिकांश विकलांग, परनिर्भर र पराश्रित भएर वाँच्नुपर्ने यो समस्याको मुख्य कारण भने मस्तिष्कको रक्तसञ्चारसँग सम्बन्धित छ।

मस्तिष्कलाई रक्त आपूर्ति गर्ने धमनीहरू फुटेर रक्तस्राव भई वा रक्तनलीभित्रै खुनको थक्का जमेर वा अन्य कारणले रक्तनली थुनिएर स्नायु तन्तुहरूमा भोजनबाट प्राप्त पोषक तत्वहरू र प्राणवायु अक्सिजन आपूर्ति हुन नसक्दा तन्तुहरू मर्न जाने समस्यालाई मस्तिष्क घात भनिन्छ। मस्तिष्क हाम्रो शरीरको केन्द्रीय नियन्त्रण कक्ष हो भने सम्पूर्ण मानसिक क्रियाहरूको प्रोसेसिङ एकाइ पनि हो। मस्तिष्क घात हुँदा नष्ट भएका स्नायु तन्तुहरूले गर्ने कार्य सुचारू हुन नसक्दा ज्यान नै जाने वा बाँचेकाहरूमा शरीर, मन र भावनासँग सम्बन्धित समस्याहरू देखा पर्दछन्।

कसलाई हुने सम्भावना ज्यादा छ ?
५० वर्ष उमेर नाघेका, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोलका समस्या भएकाहरू, उपरोक्त रोगहरूका औषधि कहिले खाने कहिले छाड्नेहरू, अति व्यस्त जीवनशैली जिउनेहरू, तनाव, चिन्ता, शोकमा परेकाहरू, मुटु तथा रक्तसञ्चारसम्बन्धी समस्या जस्तैः एट्रियल–फ्रिविलेसन, अथेरोस्क्लेरोसिस, डिपभेन थम्बोसिस, एन्युरिजम, पुरानो माइग्रेन भएकाहरूमा मस्तिष्क घातको जोखिम उच्च हुन्छ। यसबाहेक, रक्तस्रावसम्बन्धी समस्या जस्तैः घाउ हुँदा रगत बगेको बग्यै हुने वा नसाभित्रै रगत जम्ने रोग भएकाहरू, गर्भ्निरोधक औषधि खाने महिलाहरू, परिवारमा मस्तिष्क घातका इतिहास भएकाहरू, टाइप ‘ए’ व्यक्तित्व भएकाहरू, हालसालै अथवा पुरानो मस्तिष्क संक्रमणले ग्रस्त रोगीहरूमा मस्तिष्क घात ज्यादा देखिएको छ।

मस्तिष्क घातका लक्षणहरू
अचानक सहनै नसक्ने गरी छुट्टै तरिकाले टाउको दुख्नु, रिँगटा लाग्नु, शारीरिक सन्तुलन बिग्रिएर ढल्नु, शरीरको एकपाटोमा झमझम गर्नु, निदाउनु वा कमजोरी देखा पर्नु, होस हराउनु, एकाएक दृष्टि धुम्मिनु वा बन्द हुनु, बोली लट्पटिनु वा बोल्न नसक्नु, पसिना छुट्नु, बान्ता हुनु मस्तिष्क घातका लक्षणहरू हुन्।

मस्तिष्क घात आपतकालीन स्थिति भएकाले माथि उल्लिखित लक्षण देखिनेबित्तिकै बिरामीलाई जतिसक्दो चाँडो अस्पताल पुर्याउन सकियो त्यति नै धेरै बचाउन वा विकलांगता कम गराउन सकिन्छ। मस्तिष्क घातको आपतकालीन अवस्थालाई सम्हाल्न न्युरोलोजिस्टहरूको टिम नै चाहिन्छ भने रेडियोलोजिस्ट र प्याथोलोजिस्टहरूको पनि उत्तिकै भूमिका हुन्छ। घातको प्रकृति, प्रकार र क्षतिग्रस्त स्थान थाहा पाउन सिटीस्क्यान, एमआरआई, ट्रन्सक्रेनियलडोपलर, केरोटिटडोपलरजस्ता विकिरणीय निदान पद्धति अपनाइन्छ भने रक्त तथा मूत्र परीक्षणबाट रोगको कारण थाहा पाउन सकिन्छ। आपतकालीन व्यवस्थापनका लागि सघन उपचार कक्ष हुन नितान्त जरुरी छ। घातका प्रकृति र कारण थाहा पाएपछि खतराको स्थितिको आधारमा औषधि वा अप्रेसनद्वारा उपचार अगाडि बढाइन्छ।

मस्तिष्क घातपछिका समस्या
सघन तथा आपतकालीन उपचारपश्चात् पनि १५ प्रतिशत बिरामीलाई बचाउन सकिएको छैन। बाँचेकामध्ये १० प्रतिशत पूर्ण सकुशल हुन सकेका छन् भने ७५ प्रतिशतमा सामान्य, मध्यम, परनिर्भर हुनुपर्ने, निरन्तर चिकित्सा सेवा लिनुपर्ने खालका विकलांगता देखा पर्दछ। मस्तिष्क घातले आघात पुर्याएको स्नायुकेन्द्रको स्थिति र ब्रेन ड्यामेजको प्रकृतिको आधारमा विभिन्न शारीरिक तथा मानसिक विकृतिहरू देखा पर्दछन्, जसमध्ये प्यारालाइसिस मुख्य हो। अन्य समस्याहरूमा एकापट्टिका हातखुट्टा वा अनुहारमा झमझमाहट, भारीपन वा कमजोरी देखिनु, खाना चपाउन, निल्न र स्वाद पाउन गाह्रो हुनु, स्पर्शादि शारीरिक संवेदना थाहा पाउने नहुनु, दृष्टि धुम्मिनु वा बन्द हुनु, मुड परिवर्तन भइरहनु, स्मरणशक्ति, एकग्रता वा चेतनाको स्तरमा परिवर्तन देखिनु र भावनात्मकरूपमा कमजोर हुनेजस्ता समस्या आउन सक्छन्।

उपचार
आपतकालीन उपचारपश्चात् मस्तिष्क घात फेरि हुन नदिन यसका जोखिमहरूको निदान गरेर नियमितरूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ भने घातपछि देखिएको विकलांगताको निवारण गर्न पुनस्र्थापना नितान्त जरुरी छ। सही समयमा पुनस्र्थापना हुन सकेमा विकलांगता कम गराएर परनिर्भर हुनबाट बचाई दैनिक जीवनका कठिनाइहरू हटाउँदै बिरामीलाई स्तरीय जीवन दिन सकिन्छ।

पुनस्र्थापना पनि चिकित्सक, फिजियोथेरापिस्ट, नर्सिङ स्टाफ, स्पीचथेरापिस्ट, मनोवैज्ञानिक, योगगुरु, घरका सदस्यहरू र सहयोगीहरूको सामूहिक प्रयास हो। एक्सरसाइजथेरापी, इलेक्ट्रोथेरापी र स्पिचथेरापीजस्ता उपचारहरू स्थिति हेरेर सघन उपचार कक्षबाटै शुरू गर्नुपर्ने पनि हुन सक्छ। प्यारालाइसिस भएकाहरूलाई कहिल्यै पनि असाध्य सम्झेर घरमा थन्क्याएर राख्न हुँदैन, जतिसक्दो चाँडो पुनस्र्थापना केन्द्रमा लगेर उपचार गराउनुपर्छ। केन्द्रमा चिकित्सकहरूले रोगीको सम्पूर्ण अवस्था जाँच गरी मस्तिष्क घातले ल्याएको विकलांगतालाई राम्रोसँग केलाएर त्यसका निवारणका लागि थरीथरीका थेरापी र विधिहरूको प्रयोग गर्छन्। तीमध्ये एक्टिभ र प्यासिभ एक्सरसाइज, पिएनएफ एक्सरसाइज, मसल स्ट्युमुलेसन, तेल मालिस, अकुपञ्चर, गेट–ट्रेनिङ, मनोपरामर्श, स्पिचथेरापी, दिसापिसाबको सम्हार, नर्सिङ केयरजस्ता उपचार पर्दछन्।

सावधानी तथा बच्ने उपायहरू
४० वर्ष उमेर पुगेपछि नियमित रक्तचाप, मधुमेह, कोलेस्टेरोलको जाँच गराउने, जोखिम भएको पाइएमा यसलाई नियन्त्रण गर्न चिकित्सकको सल्लाहअनुसार औषधि खाने वा जीवनशैली परिवर्तन गर्ने, औषधि सेवन गरी यी रोगहरू नियन्त्रित भए पनि आफूखुशी औषधि खान नछाड्ने गर्नुपर्छ। धूमपान, मद्यपान, सुर्ती र नशालु पदार्थको सेवन गर्नुहुँदैन। शरीरको तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ। तर जोखिममा परेकाले भुलेर पनि कठिन व्यायाम गर्नुहुँदैन। स्वस्थकर खाना खासगरी मसिनो–मीठोभन्दा खस्रो–मोटो खाना, हरियो सागसब्जी, फलपूmल, रेसा र चोकरयुक्त भोजनलाई प्रश्रय दिनुपर्छ। तेल, घिउ, बोसोजस्ता चिल्ला पदार्थहरू कम खानुपर्छ। भिटामिन ‘ई’युक्त पदार्थहरूलाई खानामा समावेश गर्नुपर्छ।

यसै गरी तनावलाई बिदाइ गर्ने, भावनाहरूलाई वशीभूत गर्ने, जीवनशैली परिवर्तन गर्ने गर्नुपर्छ। चिसोमा रक्तनलीहरू साँघुरिएर रक्तचाप बढ्न गई मस्तिष्क घातको समस्या ज्यादा हुने हुँदा चिसोबाट जोगिनुपर्छ। नसाभित्रै रगत जम्ने, मुटु तथा रक्तसञ्चारसम्बन्धी रोगजस्ता मस्तिष्क घातका जोखिम मानिने शारीरिक समस्याहरूको बेलैमा निवारण गर्नतिर लाग्नुपर्छ।
– सागर सुवेदी, चितवन

प्रतिक्रिया दिनुहोस्