सामुदायिक विद्यालयमा सुधार प्रयास, अध्यक्षकै छोरी भर्ना गरेर मन्टेस्वरी शुरू



नरेन्द्र केसी, घोराही, दाङ

मावि रझेनाले केही समयअघि गरेको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमले सामुदायिक विद्यालयमा सचेत अभिभावकको आकर्षण घटेको भन्दै आफ्नी छोरी भर्ना गर्ने उद्घोष गर्नुभयो। उहाँले यो अभियानमा साथ दिन आह्वान गरेपछि सोही कार्यक्रममा पत्रकार नरेन्द्र केसीले पनि आफ्नो छोरा भर्ना गर्ने बचन दिनुभयो। लगत्तै दाङ उद्योग वाणिज्य संघका सदस्य पीताम्बर पौडेलले आफू पनि भर्ना तयार रहेको बताउनुभयो।

धेरैका लागि ठट्टाजस्तो लागेको यो विषय सोमबार यथार्थमा बदलियो। एकैदिन गौतम, केसी र पौडेलसहित ३२ जना अभिभावकले आफ्ना सन्तान यो विद्यालयमा गरेपछि मावि रझेनामा मन्टेश्वरी कक्षा सञ्चालन भएको छ। २०४६ को परिवर्तनपछि धेरै कुरामा सुधार आए पनि सार्वजनिक निकायलाई निजीकरणको बाढीले बगाएको भन्दै विद्यालय अध्यक्ष गौतमले आफूहरूले गरेको काम विद्यालय सुधारका लागि महत्त्वपूर्ण हुने बताउनुभयो। यसलाई माथिल्लो कक्षासम्म विस्तार गर्दै सामुदायिक विद्यालयबाट गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने प्रमाणित गर्ने बताउनुभयो।
यो कदमलाई अगुवाहरूले प्रशंसा गरेका छन्। रझेनाका स्थानीयबासीसमेत रहेका पत्रकार सुशील गौतमले धेरैले भाषणमा सार्वजनिक संस्था सुधारको कुरा गरे पनि यो विद्यालयमा व्यवहारमै लागू गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो। पत्रकार एवम् रझेनाबासी दधिराम सुवेदीले आफूहरूले गोबरले लिपेर अध्ययन गरेको विद्यालयमा जुत्ता खोलेर कक्षा कोठामा पस्ने वातावरण बन्नु सुखद भन्दै अब गुणस्तरीय परिणाममा जोड दिनुपर्ने बताउनुभयो।

यसैबीच घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर मन्टेस्वरी कक्षाको उद्घाटन गर्नुभएको छ। सो क्रममा उहाँले गुणस्तरीय शिक्षा उपमहानगरको लक्ष्य भएकाले यो कार्यक्रमका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै जिल्ला शिक्षा अधिकारी रमेश मैनालीले विद्यालयमा नयाँ विद्यार्थीलाई आफैले रजिस्टरमा नाम लेखेर भर्ना गरिदिनुभएको थियो।

दाङको घोराही क्षेत्रका सामुदायिक विद्यालयमा शैक्षिक सुधारको संकेत देखिन थालेको छ। घोराहीकै बाल विकास माविले गुणस्तरीय शिक्षा दिन थालेपछि बोर्डिङ छाडेर यो विद्यालयमा भर्ना गर्ने प्रतिस्पर्धा बढेको छ। त्यस्तै पद्मोदय नमुना माविले पनि स्तरीय शिक्षाको थालनी गरेको छ। यो विद्यालयले पनि यस वर्षदेखि मन्टेस्वरी कक्षा सञ्चालन गरेको छ। सामुदायिक विद्यालयले मन्टेस्वरी र अंग्रेजी माध्यमबाट पठनपाठन गराउन थालेपछि विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्