पानीको अभावमा एक बर्षदेखि प्रसुती सेवा बन्द



विनोद सिंह विष्ट, बैतडी।

बैतडीको पुर्चौंडी नगरपालिका ९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसुती सेवा बन्द भएको छ । एक बर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसुती सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो ।

एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ उहाँले भन्नुभयो“स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यसंस्थामा पानीको अभाव भयो र त्यसपछि बाध्य भएर प्रसूति सेवा बन्द गर्यौ ।”

स्वास्थ्यचौकीमा प्रसुती सेवा बन्द भएपछि गर्भवती महिलाहरु घरमै बच्चा जन्माउन बाध्य भएका छन् । अहिले सम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अन्यत्र स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन् । स्वास्थ्यचौकीमा प्रसुती सेवा नहुँदा निकै गाह्रो भएको स्थानीय तारा भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ गाउँ भएर स्वास्थ्यचौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा स्वास्थ्यचौकीमा पानीको अभाव भएको हो ।”

स्वास्थ्यचौकीमा प्रसुती सेवा बन्द भएपछि पूर्णसंस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तल्लादेहिमा पानी अभावमा प्रसुती सेवा बन्द हुँदा पूर्णसंस्थागत सुत्केरी अभियान प्रभावित भएको छ ।”

२०७२ सालमा जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्यसंस्था मध्येको तल्लादेही स्वास्थ्यचौकीमा गएको वर्षदेखि प्रसूति सेवा बन्द भएकोपछी पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा पनि प्रभावित हुने देखिएको छ ।

तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसुती सेवा बन्द भएपछि पानीको व्यवस्थाका लागी जनप्रतिनिधि, स्थानिय लगायतका सरोकारवालासंग छलफल सुरु गरिएको हेल्थ फाउन्डेसन नेपालका जिल्ला संयोजक अम्बादत्त अवस्थीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्