ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू



चितवन, राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थालेपछि टाइम कार्डको प्रयोग गरिएको जनाइएको छ ।

चालु आवमा भएका सवारी दुर्घटनामा २६ प्रतिशत दुर्घटना ट्रक र टिपरबाट भएकाले आइतबारदेखि टाइम कार्ड लागू गरिएको हो । जसअनुसार ती सवारीले भरतपुर महानगरपालिका–१२ को गोन्द्राङ्गदेखि भण्डारासम्म २० किलोमिटर ४५ मिनेटमा पुग्नु पर्नेछ ।

यस्तै भण्डारादेखि मकवानपुरको मनहरीसम्म २० किलोमिटर ३५ मिनेट, मनहरीदेखि भण्डारा २० किलोमिटर ३५ मिनेट र भण्डारादेखि पुनः गोन्द्राङ्सम्म ४५ मिनेटमा पुग्नु पर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।

टाइम कार्डको गोन्द्राङ्, भण्डारा र मनहरी प्रहरीले निगरानी गर्ने पन्तले बताउनुभयो । टाइम कार्डको उल्लंघन गर्नेलाई सवारी यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने उहाँले जानकारी दिनुभयो । चितवनको सडक हुँदै अहिले दुई हजारभन्दा बढी ट्रक र टिपर सञ्चालन हुने गरेका छन् ।

चालु आवको पुससम्ममा ११५ वटा दुर्घटना भएको कार्यालयको तथ्यांकमा उल्लेख छ । यी दुर्घटनाबाट ६१ जनाको मृत्यु भएको छ भने २३० जना घाइते भएका थिए । जसमध्ये ३० वटा दुर्घटनामा ट्रक र टिपरको संलग्नता रहेको प्रमुख पन्तले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्