पुल नबन्दा जलविद्युत् आयोजना निर्माण प्रभावित



नेपाल समाचारपत्र, लमजुङ ।

लमजुङमा निर्माणाधिन चार जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । दोर्दी नदीमा पुल नबन्दा आयोजनाका सामग्री ढुवानी कार्यमा बाधा उत्पन्न भई निर्माण कार्य प्रभावित भएको हो ।

जिल्लाको मध्यपूर्व क्षेत्रको दोर्दी नदीमा बेंसीसहर नगरपालिका– ११ को चिती र दोर्दी गाउँपालिका– ४ को नौथर जोड्ने गरी शेरामा निर्माण गर्न लागिएको मोटरेवल पक्की पुलको निर्माण नहुँदा त्यस्तो समस्या सिर्जिएको हो । सो पुलको निर्माण कार्य करिब ६ वर्ष अघि थालिएको र दुई वर्ष भित्र निर्माण हुनुपर्नेमा निर्माण कार्य अझै अलपत्र छ ।

उक्त नदीमा हयुमपाइप राखेर अस्थायी रूपमा पैदल यात्रीका लागि आउजाउको बाटो सहज बनाइएको छ । तर, मालबाहक सवारी हिँडाउन भने समस्या हुने गरेको आयोजनका निर्माण पक्षले बताएको छ ।

पुल नबन्दा जलविद्युतका निर्माण सामग्री भित्र्याउन अप्ठ्यारो परेको सुपर दोर्दी इन्भेष्टमेन कम्पनीका अध्यक्ष इजन बरालले बताउनु भयो । उहाँका अनुसार त्यसले गर्दा आयोजनाको निर्माणमा समस्या उत्पन्न भई ढिलाइ हुन गएको छ । समय लम्बिँदै गएकाले जलविद्युत् आयोजनालाई आर्थिक भार थपिँदै गएको उहाँको भनाई छ ।

वर्षायाममा बाढी आइरहने र हिउँदमा आफैंले राखेका हयुमपाइप फुट्ने हुनाले निर्माण स्थलसम्म सहजै निर्माण सामग्री पु¥याउन कठिन भएको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ का सञ्चालक केशवबहादुर रायमाझीले बताउनु भयो । उहाँका अनुसार बढी भारका सवारी साधन मार्फत निर्माण सामग्री ढुवानी गर्नुपर्ने भएका कारण समस्या हुने गरेको छ । उहाँले भन्नुभयो जोखिम मोलेर बिस्तारै सामग्री पार गराउनुपर्ने बाध्यता र्सिजिएको छ ।

दोर्दी नदीमा निर्माणाधीन अलपत्र उक्त पुल ०६८ चैतमा शिलान्यास गरिएको थियो । चार वटै आयोजनाले पुलको निर्माण पूरा हुने समयलाई ध्यानमा राखेर आयोजनाको निर्माण कार्य योजना अघि बढाएका थिए । तर, हालसम्म पुलका लागि चारवटा पिलर उठाउनुका साथै ढलानको लागि चितीतर्फ भागमा फर्मा तयार पारेर अलपत्र छोड्नु बाहेक कुनै काम नभएको जलविद्युत् प्रवद्र्धकले बताएका छन् ।

माथिल्लो दोर्दी ‘ए’ आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले पुलकै कारण आयोजना निर्माणमा ढिलाइ भइरहेको बताउनु भएको छ । लिवर्टी इनर्जी हाइड्रोपावर कम्पनीले २५ मेगावाटको उक्त आयोजना ०७४ को अन्त्यमा निर्माण सक्ने लक्ष्य छ ।

तर भूकम्प, नाकाबन्दी, बाढीपहिरो र पुलको अभावले ०७५ अन्तिम सम्ममा निर्माण सक्ने आयोजनाले लक्ष्य लिएको छ ।
‘लक्ष्य भेटाउन गाह्रो छ । पुल नहुँदा निर्माणमा तीव्रता दिन सकिएको छैन,’ उनले भने, ‘आयोजनाको हाल ५० प्रतिशत निर्माण सकिएको छ ।’ उनका अनुसार जिल्लाका सांसद, प्रमुख जिल्ला अधिकारी, डिभिजन सडक कार्यालय दमौलीका प्रमुखलगायतलाई बारम्बार गुनासो गरिएको छ ।

सो करिडोरमा निर्माण थालिएको अर्को दोर्दीखोला जलविद्युत् आयोजना हो । उक्त आयोजना ०७४ असारभित्र सक्ने कार्यतालिका थियो । तर पुलकै समस्याका कारणले आयोजनाको निर्माण कार्य प्रगति ५० प्रतिशतभन्दा बढेको छैन आयोजना जनसम्पर्क अधिकारी रामचन्द्र पौडेलले बताउनु भयो ।

उक्त पुल नबन्दा सिंगो दोर्दी निर्माणाधीन आयोजनामा मात्रै नभएर गाउँपालिकाका बासिन्दासमेत समस्यामा परेको दोर्दी गाउँपालिका प्रमुख ओमबहादुर गुरुङले बताउनु भयो । उहाँले ‘हिउँदमा हयुम पाइप राखेर सवारी वारपारि गरियो ।

बर्खामा ढुवानी रोकियो, आयोजना निर्माणमै समस्या आएको देखियो,’ भन्नुभयो । उक्त पुल नबन्दा दोर्दी गाउँवपालिका क्षेत्रका नौथर, पाचोक, गौंडा, ढोडेनी, फलेनी लगायतका स्थानीयलाई आवत जावत, खाद्यान्न ढुवानीलगायतमा समस्या परेको उनले सुनाए ।

डिभिजन सडक कार्यालय दमौलीका अनुसार ०६८ चैतमा शिलान्यास गरिएको उक्त पुलको निर्माण सम्पन्न हुनुपर्ने म्याद ०७० असारसम्म थियो ।

प्रतिक्रिया दिनुहोस्