नाडाल क्वार्टर फाइनलमा



लन्डन, (एजेन्सी)
शीर्ष वरीयताका राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। वर्षको पहिलो ग्रान्डस्लाम टेनिसको चौथो चरणअन्तर्गत आइतबार भएको खेलमा अर्जेन्टिनाका डिएगो स्वार्जमनलाई हराउँदै नाडाल अन्तिम आठमा पुगेका हुन्।

स्वार्जमनविरुद्धको खेल नाडालले ६–३, ६–७, ६–३ र ६–३ को सोझो सेटमा जितेका हुन्। नाडालले अब क्वार्टरफाइनलमा क्रोएसियाका मारिन सिलिचसँग खेल्नेछन्। चौथो चरणको खेलमा स्पेनका कारेनो बुस्टालाई ६–७, ६–३, ७–६ र ७–६ ले हराउँदै सिलिच पनि अन्तिम आठमा पुगेका हुन्।

यसै गरी ब्रिटिस खेलाडी कायल एडमन्ड पनि क्वार्टरफाइनलमा पुगेका छन्। चौथो चरणको खेलमा इटालीका आन्द्रियास सेप्पीलाई ६–७, ७–५, ६–२ र ६–३ ले हराउँदै एडमन्ड करियरमा पहिलो पटक कुनै पनि ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

अस्ट्रेलियन ओपन टेनिसको आइतबार नै भएको महिलातर्फको चौथो चरणको खेल जित्दै डेनमार्ककी क्यारोलिन बोज्नियाकी, स्पेनकी नाभारो सुवारेज र बेल्जियमकी एलिसे मर्टिन्स पनि क्वार्टरफाइनलमा पुगेका छन्। स्पेनकी सुआरेजले कोन्टाभेटलाई ४–६, ६–४, ८–६ को सेटमा हराउँदा बोज्नियाकिले पनि राइबरीकोभालाई ६–३, ६–० तथा मर्टिन्सले क्रोएसियाकी मर्टिचलाई ७–६ र ७–५ ले पराजित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्