कार जलाउँदै हिँड्ने डाक्टर पक्राउ



नयँ दिल्ली, (एजेन्सी)
दक्षिणी भारतीय राज्य कर्णाटकमा केही दिनभित्र २५ वटा कारमा आगो लगाइदिएको आरोपमा एकजना डाक्टरलाई गिरफ्तार गरिएको छ। प्रहरीले हेल्मेट लगाएका डाक्टर अमित गाइक्वादले विभिन्न भवनभित्र छिरेर कारमा आगो लगाउँदै गरेको सीसीटीभी फुटेज नियन्त्रणमा लिएका छन्।

यस्तो काम गर्ने उनको सनक हो वा यो कुनै मानसिक रोग नै भएको भन्ने स्पष्ट भइनसकेको प्रहरीले बीबीसीलाई बताएका छन्। उनीद्वारा जलाइएका १३ वटा कार उनीसँग कुनै सरोकार नै नभएका अन्य डाक्टरहरूको भएको अनुसन्धानबाट ख्ल्न आएको छ।

ती पीडित डाक्टरहरू डा. गाइक्वाद प्याथोलोजिका सहायक प्राध्यापक रहेको अर्को जिल्लामा कार्यरत रहेको बुझिएको छ। उनको ती डाक्टरहरूसँग कुनै रिसराग वा तनाव नरहेको पनि बताइएको छ। ३७ वर्षीय गाइक्वाद एक असल शिक्षक पनि भएकाले उनको यस कार्यबाट उनको कार्यालयका सबै व्यक्ति स्तब्ध भएको एकजना प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई बताएका छन्।

उनलाई १७ जनपवरीमा एकजना सुरक्षा गार्डले उनलाई रंगेहात पक्राउ गरेका थिए। प्रहरीले सोही दिन पक्राउमा पर्नुअघिसम्म उनले १० वटा कार जलाउन भ्याएको बताएको छ। उनले प्रहरीलाई बयान दिने क्रममा आफूले रोही राज्यको अन्य २ वटा जिल्लामा थप १५ वटा कार जलाइसकेको बताएका छन्। उनीमाथि प्रहरीले थप छानविन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्