मतदाता नामावली सार्वजनिक



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका मतदाताको नामावली आइतबार सार्वजनिक गरेको छ। सातवटै प्रदेशको अस्थायी मुकाममा प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेको दिन आयोगले मतदाताको नाम सार्वजनिक गरेको हो। आयोगले माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिकाअनुसार मतदाताको नामावली सार्वजनिक गरेको थियो। आयोगका अनुसार हिजो सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य (निर्वाचनक मण्डल) मतदाताको नामावली सार्वजनिक गरिएको थियो।

प्रदेश नम्बर १ को मोरङको विराटनगर, प्रदेश नम्बर २ को धनुषाको जनकपुरधाम, प्रदेश नम्बर ३ को ललितपुरको पाटन र प्रदेश नम्बर ४ को कास्कीको पोखरामा रहेका कार्यालयमा नामावली प्रकाशित गरिएको प्रवक्ता नवराज ढकालले बताउनुभयो। उहाँका अनुसार प्रदेश नम्बर ५ को दाङ र प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को डोटीमा रहेका कार्यालयमा नामावली प्रकाशित गरिएको हो।

उक्त निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ र सातवटा प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य जम्मा ५ सय ५० गरी कूल २ हजार ५६ जना मतदाता रहेका छन्। स्थानीय तहमा ७ सय १८ महिला र ७ सय ८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३ सय ६१ र महिला १ सय ८९ जना मतदाता रहेका छन्।

प्रदेशगत विवरणअनुसार १ नम्बर प्रदेशमा स्थानीय तहमा २ सय ७४ जना, प्रदेश सभा सदस्य ९३ जना, प्रदेश नं २ मा स्थानीय तहका २ सय ७२ जना, प्रदेश सभा सदस्य १ सय ७ र ३ नं प्रदेशमा स्थानीय तहमा २ सय ३८ रहेका छन्। यस्तै प्रदेशसभा सदस्य १ सय १० जना, प्रदेश नं ४ मा स्थानीय तहमा १ सय ७ र प्रदेशसभा सदस्य ६० जना रहेका छन्।
यसैगरी प्रदेश नं ५ स्थानीय तहका २ सय १८ जना, प्रदेशसभा सदस्यमा ८७ जना, प्रदेश नं ६ मा स्थानीय तहमा २ सय १८, प्रदेश सभा सदस्य ४० जना र प्रदेश नं ७ मा स्थानीय तहका १ सय ७६ र प्रदेश सभा सदस्य ५३ जना रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ।

सोही दिन प्रकाशित नामावलीमा दाबी विरोधको समय दिएको थियो। त्यसमा कसैको दाबी विरोधको उजुरी नपरेकोले प्रकाशित नामावली नै अन्तिम नामावली प्रकाशन रहेको आयोगले जनाएको छ।

प्रवक्ता ढकालका अनुसार माघ १० गते उम्मेदवारको सूची र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको मनोनयन सूची सोही दिन प्रकाशन गरिनेछ। यसै गरी उम्मेदवारको सूचीमाथि दाबी–विरोधका लागि आयोगले माघ ११ र १२ गते तोकेको छ। उम्मेदवारको मनोनयन पत्र र उजुरी निवेदनमाथि जाँचबुझ गर्दै निर्णय माघ १३ गते गरिनेछ।
माघ १४ गते मनोनयका लागि उम्मेदवारी दिएका उम्मेद्वारको नामावली प्रकाशन गरिनेछ। माघ १५ गतेको समय नाम फिर्ताका लागि छुट्याइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण माघ १५ गते नै गरिनेछ।

संविधानमा राष्ट्रियसभामा ५६ जना निर्वाचित हुने व्यवस्था छ। संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतको आधारमा एकल सङ्क्रमणीय मतप्रणाली बमोजिम प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुनेछन्। महिला तीन जना, दलित एक जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १ जना र अन्य ३ जना निर्वाचित गर्नुपर्ने व्यवस्था छ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था भएअनुसार १ जना महिला अनिवार्य हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्