प्रदेससभा सदस्यले लिए शपथ



शेरबहादुर थापा, सुर्खेत
प्रदेश ६ नं. ६ का ३९ जना प्रदेससभा सदस्यले आइतबार जिसस सभाहलमा सपथ लिएका छन्। प्रदेशसभा सदस्यहरूलाई प्रदेस प्रमुख दुर्गाकेशर खनालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्।

प्रदेश ६ का सदस्यहरूको सपथग्रहण आइतबार बिहान ११ बजे हुने भनिएकोमा झण्डै साढे १ बजेदेखि शुरू गरिएको थियो। जिल्ला समन्वय समितिको हलमा भएको शपथ कार्यक्रममा यस प्रदेशका केही सांसदहरू काठमाडौँबाट आउन ढिलाइ गरेकाले १ बजे सारिएको थियो।

समानुपातिकतर्फ सांसद बनेकाहरू प्रमाणपत्र ग्रहण गर्न काठमाडौंमा आएका थिए भने अन्य प्रदेश सदस्यहरू पनि काठमाडौं मै रहेका थिए। प्रदेश प्रमुख खनालले प्रदेशसभाका ज्येष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ दिलाएपछि ज्येष्ठ सदस्य शाहीले अन्य अरू सदस्यलाई शपथ ग्रहण गराएका थिए। ६८ वर्षीय शाहीले प्रदेश नम्बर ६ का ३९ जना सांसदहरूलाई सपथ ग्रहण गराएका थिए। तर प्रदेश प्रमुख खनालले एकैपटक ४० जनालाई सपथ खुवाउन नमिल्ने प्रावधान रहेको छ। प्रदेशसभा सदस्य यामलाल कंडेलले सपथ ग्रहणपश्चात हामीसँग कुरा गर्दै भने, ‘अब हामी प्रदेश समृद्धितर्फ अघि बढ्छौँ, हामीसँग अथाह प्राकृतिक सम्पदा छ।’ उनका अनुसार अब प्रदेश नं. ६ आर्थिक समृद्धिमा अघि बढ्छ।

यस्तै प्रदेश नं. ६ का सदस्य राजबहादुर शाहीले आफूहरूको योजना आत्मनिर्भर प्रदेश रहेको बताए। उनले भने– ‘मानसरोबर, राराताल, शे–फोक्सुण्डो, पञ्चकोशी तीर्थस्थललगायत हामीसँग पर्याप्त सम्पदा छन्, हामी यी सबै हाम्रा सम्पदाको पर्याप्त प्रचारप्रसार गर्छांै र यो क्षेत्रमा पर्यटकीय आकर्षण बढाउँछौँ।’ उनले थपे– ‘अब हामी प्रदेश समृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउँछौं।’

त्यसैगरी, प्रदेशसभा सदस्य पदमा खड्काले यो प्रदेश महिलामैत्री हुने दाबी गरिन्। उनले भनिन्– ‘यो प्रदेशमा छाउपडी, बालविवाह जस्ता रुढीवादी परम्पराले जरो गाडेकाले त्यसलाई निमिट्यान्न पार्न मेरो ध्यान जान्छ।’ उनका अनुसार अब प्रदेश सरकारले बालविवाह रोक्न महत्त्वपूर्ण अभियान शुरु गर्ने भएको छ।

प्रदेश नं. ६ गरिबीले व्याप्त भएको बेला यो सरकारले संघीयता गठन गरेको छ। जसअनुसार अब जनताले स्थानीय तहमा सबै अधिकार पाइसकेपश्चात प्रदेशमा महत्त्वपूर्ण केही अधिकार मात्र पाउने देखिन्छ। हुम्लाका जनताले सबै अधिकार खोज्न अब सुर्खेत आउनुपर्दैन। कम्तिमा अब सवारीसाधन चालक अनुमतिपत्र लिन नेपालगन्ज जानुपर्दैन। स्थानीय व्यवसायी मानबहादुर खड्का भन्छन्– ‘प्रदेश सरकारले हामी सबैलाई ठूलो राहत दिन्छजस्तो लाग्छ, अब हाम्रो आँगनमै मन्त्रालय भएकाले अन्यत्र जानुपर्दैन।’

प्रतिक्रिया दिनुहोस्