पोखरामा चिनियाँ भाषाको कक्षा शुरू



नेपाल समाचारपत्र
पोखरा
पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा शुरू गरेको छ। साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कम्फ्युसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइट स्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो।

प्रतिनिधिसभाका सदस्य रविन्द्र अधिकारीले एक विशेष समारोहका बीच चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषा भाषाको ज्ञानले पर्यटन उद्यमशिलतासमेत बढाउने बताउनुभयो। सन् २०२० सालसम्म २० लाख पर्यटक नेपालमा भित्र्इउने लक्ष्य राखिएको उल्लेख गर्दै हाल घट्दै गएको रेमिटान्सलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गर्नुभयो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्इउनका लागि काम भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउँने बताउनुभयो।

काठमाडौं विश्वविद्यालय कम्फ्युसियस इन्स्टिच्युटका निर्देशक प्राडा. वाङ सङलिले चिनियाँहरूले विदेशी भाषामा बोल्न नचाहने भएकाले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाहरूले चिनियाँ भाषाको आधारभूतको ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताउनुभयो। आफ्नै भाषामा अपनत्व खोज्ने चिनियाँ पर्यटकहरूलाई उनीहरूकै भाषामा सेवा दिइ पर्यटकको संख्या बढाउन उहाँले सुझाव दिनुभयो।

आर्थिक रूपमा तीव्र गतिले विकास गरिरहेको चीनले विश्वबजारमा आफ्नो हिस्सा बढाउँदै गएकोले चिनियाँ भाषा महत्व विश्वभर बढ्दै गएको उल्लेख गर्दै साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष धु्रव पौडेलले चिनियाँ भाषा नसिकेकै कारण पोखराका स्थानीय पर्यटन व्यवसायीले चिनियाँ पर्यटकबाट गर्न सक्ने आम्दानी गुमाउँदै गएको बताउनुभयो।

८० घन्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८०भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ। भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कम्फ्युसियस इन्स्टिच्युटल २ जना व्यवसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्