पाँच नम्बर प्रदेशमा हुने मुख्यमन्त्री शङ्कर पोख्रेल



काठमाडाैं । नेपालका सातवटा प्रदेशमध्ये ५ नम्बर प्रदेश यस्तो प्रदेश हो, जहाँ मुख्यमन्त्रीका एक्ला दावेदार छन् । बाँकी ६ वटा प्रदेशहरुमा एउटै वा फरक पार्टीका एकभन्दा बढी मुख्यमन्त्रीका आकाङ्क्षी छन् । पाँच नम्बर प्रदेशमा भने निर्वाचनअघि नै वाम गठबन्धनकै तर्फबाट भावी मुख्यमन्त्रीको रुपमा प्रस्तावित व्यक्तित्व हुन् शङ्कर पोख्रेल । बुटवलमा आइतवार प्रदेश सभा सदस्यको शपथग्रहणसँगै नेकपा एमालेको ५ नम्बर प्रदेशमा संसदीय दलको नेतामा चुनिए उनी । त्यसै पनि उनी मुख्यमन्त्रीका एक्ला दावेदार छँदै थिए, यसले त झन एमाले नेता पोख्रेलको मुख्यमन्त्री बन्ने बाटोलाई अझै सुगम बनाइदिएको छ ।

किन एक्ला दावेदार ?
एमाले नेता शङ्कर पोख्रेल वास्तवमा दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव भिड्न चाहेका थिए । त्यही क्षेत्रमा चुनावी मोर्चामा लड्न कस्सिएका थिए, माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा । दुबै नेता दाङ– २ बाट चुनावमा भिड्ने मनस्थिति बनाइरहेकै बेलामा एमाले–माओवादी केन्द्रबीच चुनावपछि पार्टी एकता नै गर्ने उद्घोषका साथ वाम गठबन्धनको घोषणा भयो । त्यसपछि यो विषयले वाम गठबन्धनको कार्यदलमा प्रवेश गर्यो । कार्यदलले टुङ्गो लगाउन नसकेपछि दाङ– २ को विषय दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड”को पुग्यो । दुई शीर्षक नेताले यो विषयलाई यसरी सुल्झाए, दाङ– २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णबहादुर महरा र दाङ– २ (क) मा पाँच नम्बर प्रदेशको भावी मुख्यमन्त्रीसहित प्रदेश सभा सदस्यका उम्मेदवार शङ्कर पोख्रेल । शीर्ष नेतृत्वबाटै टुङ्गिएको विषय भएकाले यो प्रदेशमा एमाले–माओवादी केन्द्र दुबैतिरका अन्य नेताहरुले मुख्यमन्त्रीका लागि दावी गर्ने प्रश्न थिएन र गरेनन् पनि ।

को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शंकर पोखरेल ?
नेपाली बामपन्थी आन्दोलनमा र राष्ट्रिय राजनीतिमा स्थापित नेता हुन् शंकर पोखरेल । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययन गर्दा उनले प्रवासी नेपाली विद्यार्थीहरुको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेले । नेता पोख्रेलले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरे । जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरे । विक्रम सम्वत २०१९ फागुन १५ गते दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा केशवराजशर्मा र तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटी सदस्यका रुपमा आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

२०३६ सालको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौंको मोर्चावाट आन्दोलनको नेतृत्व गरेका थिए । गणतन्त्रको पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उनी प्रमुख वक्ता थिए । माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उनले शान्ति पदयात्राको नेतृत्व गरेका थिए । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउनका लागि गरिएको विभिन्न प्रकारका छलफलहरुमा उनको सक्रिय सहभागिता रहेको थियो । माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिवका रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । जनकपुरमा भएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लगेका थिए । संविधान सभामार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्षसहित उनले पार्टीमा राज्य पुनसंरचना सम्वन्धी लिखित दस्तावेज प्रस्तुत गरेका थिए । राज्यको पुनसंरचना सम्वन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको पनि सचिव थिए पोख्रेल । अघिल्लो संविधानसभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेलेका पोख्रेल ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रीकरण सम्वन्धमा उनले प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार गरिएको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्ने कुरामा समेत उनको नेतृत्वकारी भूमिका रहने गरेको छ । उच्चस्तरको बैचारिक क्षमता र कुशल वक्ताको रुपमा संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्छन् पोख्रेल ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुन् । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने मान्यता राख्ने पोख्रेल नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित भएका छन् । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गरेका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण लिइएको छ ।

हाल पार्टीमा पोखरेलले पार्टी स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहेका छन् । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय छन् । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक हुन् । विगतमा पार्टी सचिवको रुपमा काम गरिसकेका पोखरेलले सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उनले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउँदै आएका छन् । पोखरेलले युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहरुको सम्पादन पनि गरेका छन् । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उनको नेतृत्वकारी भूमिका रहेको थियो । केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादकको जिम्मेवारी समेत बहन गरेका थिए । पटकपटक जेल र दर्जनौपटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गरेका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरुमध्ये एक हुन् । पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुन् । उनका दुई छोरी छन् ।

संक्षेपमा शंकर पोखरेलः
* विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानको रुपमा जन्म ।
* त्रिभुवन विश्वविद्यालयबाट एमबीए तहको अध्ययन पूरा गरेका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
* आर्थिक, सामाजिक, विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात ।
* ३२ वर्षको उमेरमा पहिलोपटक २०५१ सालमा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
* हाल नेकपा एमालेको स्थायी कमिटी सदस्य, पार्टी स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारी ।
* नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित ।
* नेपालको बामपन्थी आन्दोलनमा स्थापित नेता ।
* जननेता स्वर्गीय मदन भण्डारीसँग निकट रहेर काम गरेको ।
* विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश, बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
* अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
* अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
* २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५÷४६ पञ्चायती ब्यवस्था अन्त्यका लागि भएको आन्दोलनमा नेतृत्वदायी भूमिका ।
* २०६२÷६३ को जनआन्दोलनमा काठमाडौको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रको पक्षमा काठमाडौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
* माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा शान्ति पदयात्राको नेतृत्व ।
* माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
* एमालेको सातौ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
* राज्यको पुनसंरचना सम्वन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
* आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा प्रस्तुत गरेको पुरक प्रस्तावलाई सर्वसम्मतरुपमा स्विकार ।
* केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उनले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
* साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ युगलहर, सिमानापारिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्यिक रचना संग्रहहरुको सम्पादन साथै एक्काइसौ शताव्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादन ।
* नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका, पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरु मध्ये एक ।
-अजय शर्माको सहयोगमा

प्रतिक्रिया दिनुहोस्