शीतलहरले जनजीवन कष्टकर



औधापुर, बारा,  कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ ।

शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए । पच्चीस दिनदेखि घामको मुख देख्न नपाएका उनीहरू यस वर्षको शीतलहर धेरै वर्षपछि लामो समयसम्म चलेको बताउँछन् ।

औधापुर–२ का सञ्जय शास्त्रीले भन्नुभयो, “विगत वर्षहरूमा दुई तीन दिन शीतलहर चलेपछि घाम लाग्थ्यो, यसपालि लगातार २५ दिन भइसक्यो, घाम लागेको छैन ।” शीतलहरका कारण बस्तीमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । जाडो बढेसँगै विद्यालय करिब १० दिनका लागि बन्द गरिएकामा आजदेखि खुलेका छन् ।

स्थानीय प्रशासन र स्थानीय तहले शीतलहर पीडितलाई केही न्यानो कपडा तथा आगो ताप्न दाउराको प्रबन्ध मिलाए पनि पर्याप्त छैन । कलैया उपमहानगरपालिका–२ का वडाध्यक्ष राजेश मण्डलले वडाका अतिविपन्न परिवारलाई करिब १५० घरपरिवारलाई न्यानो कपडा र कम्बल वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।

उहाँले जाडाबाट बच्न स्थानीय चोक चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । तीन सातादेखि एक्कासि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्नेक्रम नरोकिएपछि औधापुरलगायत तराईका जिल्लामा घाम देख्न मुश्किल पर्छ । “पुस माघ महिनामा तराईमधेशमा शीतलहर हुन्छ भन्ने सरकारलाई थाहा छ र त्यहाँको जनजीवन कष्टकर हुन्छ भन्ने पनि सरकारलाई अवगत नै छ, तर सरकारले यसबारे बेलैमा सतर्कता नअपनाउँदा प्रत्येक वर्ष मानवीय क्षति हुने क्रम रोकिएको छैन”, शास्त्री भन्नुहुन्छ ।

चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्ना टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापी बसेको देख्न सकिन्छ ।

तराईमा चिसाका कारण ज्यान जाने नियमित प्रक्रिया जस्तै भएको छ । सरकारले चिसो र शीतलहर प्रभावितलाई जोगाउन बेलैमा सतर्कता नअपनाउँदा बर्सेनी शीतलहरबाट तराईका जिल्लामा धेरैको ज्यानसमेत जाने गरेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्