उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा



सोल,  उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ ।

अर्काे महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो ।

यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीहरुले सोलबाट जानकारी दिएका छन् ।

उक्त प्रतिनिधिमण्डलले सो खेलकूदको तयारीका साथै उत्तर कोरियाको तर्फबाट प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमको तयारीको बारेमा पनि निरीक्षण गर्ने र आवश्यक निर्देशन दिने बताइएको छ ।

उत्तर कोरियाको एक प्रसिद्ध सांगितीक समूह (मोराङ्बोङ ब्यान्ड) का प्रमुख होङ सोन उलको नेतृत्वको सात सदस्यीय समूह उक्त प्रतिनिधिमण्डलमा रहेको छ ।

आइतबार बिहान सो समूह सोल पुग्दा प्रहरीको निकै ठूलो सुरक्षा घेराले सुरक्षा दिइरहेको थियो । पश्चिमा देशहरुको जस्तै सांगितीक प्रस्तुति दिने उक्त ब्यान्ड उत्तर कोरियामा निकै प्रचलित छ ।

उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी सो ब्याण्डका अधिकारी हुन् । उक्त ब्याण्ड सरकारको मातहतमा स्थापना र सञ्चालन भइरहेको छ ।

फेब्रुअरीमा हुनलागेको सो खेलकूदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति पनि उनीहरुले नै दिने तय भएको छ । सो प्रस्तुतिको तयारीको निरीक्षण गर्न उनीहरुले दुई दिनसम्म दक्षिण कोरियाको भ्रमण गर्न लागेका हुन् ।

संयोजक संगीतकर्मी महिला उलको नेतृत्वमा रहेको सो समूहले उक्त खेलकूदको समयमा पश्चिमाको जस्तै संगीत देखाउने बताइएको छ । उत्तर कोरियामा उनीहरुले यसका लागि लामो समयदेखि तयारी गरिरहेका पनि अर्काे एक समिाचारमा जनाइएको छ ।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारी पठाउने जानकारी यसअघि नै दिइसकेको छ ।

उक्त खेलकूदमा २२ जना एथलेट्स र अरु खेलकूद अधिकारीहरु उत्तरले दक्षिण पठाउन लागेको छ । ती खेलाडीहरुको नामावली र उनीहरुले खेल्ने खेलको बारेमा ओलम्पिक कमिटीले अनुमोदन गरिसकेको बताइएको छ ।

यस ओलम्पिक खेलकूदमा उत्तर र दक्षिण कोरियाले एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न पनि सहमति जनाएका समाचार यसअघि नै आएको थियो ।

त्यसैले पनि उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा लिनुपर्नेमा विश्वका नेताले नै आग्रह गरेका छन् ।
रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्