‘कलेज स्टुडेन्ट’को रोचक कहानी



पुस्तक चर्चा

 

रोहिणी घिमिरे
कलेज जीवनको प्रेम–रोमान्स, विछोड–मिलन अनि सम्पन्नता र विपन्नताको कहानीलाई उनेर तयार गरिएको ‘स्वार्थी’ नामको उपन्यास बजारमा आएको छ। उपन्यासकार डा. डीआर उपाध्यायद्वारा लिखित सो उपन्यास मनोरञ्जनात्मक मात्र नभएर शिक्षाप्रद पनि छ। एउटै कक्षामा पढ्ने विद्यार्थीमा कोही विपन्न भएर पनि पढ्नमा लगनशील र जेहेन्दार हुन्छन् भने कोही धनको अहंताले फेसनेबल र स्वार्थी हुन्छन् भन्ने कुरा डा. उपाध्यायको उपन्यासले दर्शाएको छ। डा. उपाध्याय आफू पुरुष भएर पनि नारी–पात्रको चित्रण गर्न बडो माहिर देखिन्छन्। त्यसैले पनि उनको यो उपन्यास निकै रोचक र पठनीय भएको छ।

यस ‘स्वार्थी’ उपन्यासमा नायकको रुपमा विक्रम र नायिकाको रुपमा शिल्पालाई लिन सकिन्छ। सञ्जय र प्रियंकाको भूमिका पनि कम आँक्न सकिँदैन। एसएलसीपछि उनीहरू त्रिचन्द्र कलेजमा सँगै पढ्छन्। विक्रमको बानीव्यवहार, आकर्षक व्यक्तित्व र अब्बल पढाइले उनलाई सबैले मन पराउँछन्। शिल्पा धनी बाउकी छोरी भएकीले उनी मनोरञ्जन र फेसनतिर बढी आकर्षित भएकी हुन्छिन्। उनी अरू केटीभन्दा स्मार्ट देखिन्छिन् भने सधैँ आफ्नै कार लिएर कलेज आउँछिन्। प्रियंका भने निर्धन बाउकी छोरी भएकाले साधारण मेकअपमा हुन्छिन् तर पनि उनको सौन्दर्य मनमोहक नै हुन्छ। सञ्जयको भने पढाइ र व्यवहार साधारण नै हुन्छ।

कक्षाका प्रायः केटीहरूको रोजाइमा विक्रम पर्दथे। त्यसमा पनि शिल्पाले विक्रमलाई आफ्नो मायाजालमा फसाउन गरेका प्रयासहरू पढ्दा लाग्छ– युवतीहरूको मनोभावना लेखकले राम्रैसँग बुझ्न सकेका रहेछन्। नवयुवकहरूलाई आफूसित आकर्षित गराउन खप्पिस शिल्पाको हाउभाउको प्रस्तुति लेखक डा. उपाध्यायले निकै रोचक ढंगले प्रस्तुत गरेका छन्। उता विक्रमलाई शिल्पाले मन पराएको देख्दा प्रियंकालाई निकै डाहा हुन्छ र उनी पनि विक्रमलाई आफ्नो बनाउन प्रयास गर्छिन्। तर असफल भएपछि उनी निराश हुन्छिन्। उता सञ्जयलाई भने कता–कता विक्रम र शिल्पाको यो सम्बन्ध दीर्घ हुनसक्दैन भन्ने लाग्छ।

युवकहरूलाई आफ्नो जवानीमा लठ्याउन पाए शिल्पालाई धेरै मज्जा लाग्थ्यो। कुरैकुरामा राजीवलाई पनि शिल्पा त मेरै हो भन्ने पार्न उनी सफल भइन्। प्राकृतिक छटा, नारी–मनोभावना अनि पुरुषको चाहनालाई लेखकले शिल्पा, प्रियंका र राजीवको पोखरा भ्रमणको प्रसंगमा निकै रोचक पाराले दर्शाएका छन्। नारी–सौन्दर्य र यौवनको उन्मादलाई सलल बगाउन सफल देखिन्छन् लेखक। सधैँ मनमा विक्रम बसेकाले प्रियंकाले सपनामा पनि विक्रमसँगै टाँसिएर बसेको प्रसंग उत्तिकै पठनीय छ।

परीक्षामा शिल्पाबाहेक विक्रम, सञ्जय र प्रियंका सबै पास भएको, त्यसमा पनि विक्रम सर्वप्रथम भएकाले डाक्टरी पढ्ने कुरा बडो मार्मिक ढंगले प्रस्तुत गरिएको छ। आखिर शिक्षा मन्त्रालयले डाक्टरी पढ्नका लागि छात्रवृत्तिको सूचना ननिकाली मन्त्री–सचिवका आफन्तलाई पारेको खबरले विक्रम निराश हुन्छन्। यहाँ लेखकले घुमाउरो पाराले हाम्रो राजनीतिक संस्कारलाई उदाङ्गो पार्न खोजेको देखिन्छ। यस मौकामा शिल्पाले आफ्ना बाबुमार्फत भारतको एक मेडिकल कलेजमा विक्रमलाई पढ्न पठाउने मेसो मिलाउँछिन्। यसले गर्दा शिल्पा र विक्रमको प्रेमको गाँठो धेरै कसिलो हुन्छ। तर पछि आलोचना खप्न नसकेर शिक्षा मन्त्रालयले पनि छात्रवृत्तिको लागि खुला सूचना निकाल्छ। विक्रमले दरखास्त हाल्छन्। उनको नाम निस्कन्छ। त्यसपछि त सरकारी कोटामै उनी डाक्टरी पढ्न कलकत्ता जान्छन्। यता प्रियंकाचाहिँ शिल्पा र विक्रमको प्रेम गाढा भएको तर आफूले विक्रमलाई आफ्नो बनाउन नसकेकोमा तड्पिइरहन्छिन्।

उता शिल्पा र विक्रमबीच चिठीपत्र ओहोरदोहोर भइरहन्छ। तर पढाइको अन्त्य हुनै लाग्दा शिल्पाको पत्र आउन बन्द हुन्छ। विक्रमले शिल्पाको बारेमा सोधेर सञ्जयलाई पत्र लेख्छन्। ‘अब शिल्पाको सपना नदेख्नू, ऊ अमेरिकनसँग बिहे गरेर गइसकी’ भन्ने सञ्जयको खबर आउँछ। विक्रम छाँगाबाट खसेजस्तो हुन्छन्।

अन्तिम परीक्षामा विक्रम सर्वप्रथम हुन्छन्। अब उनले सर्जन भएर ६ महिना काम गर्नुपर्ने हुन्छ। उनी दार्जीलिङको जिल्ला अस्पतालमा नियुक्ति लिएर काम गर्न थाल्छन्। त्यही बेला अकस्मात् एक्सिडेन्टको बिरामी ल्याइन्छ– कलेजको सहपाठी सञ्जय। उनै शिल्पाले लिएर आएकी ⁄ विक्रमलाई अचम्म लाग्छ। विक्रमले शिल्पालाई आफ्नै सरकारी निवासमा राख्छन् भने सञ्जयलाई आफ्नै हातले उपचार गर्छन्। आखिरमा रहस्य खुल्छ शिल्पा सञ्जयकी पत्नी भएकी रहिछन्। शिल्पाकै ‘आइडिया’ले अमेरिकनसँग बिहे भयो भनेर सञ्जयले विक्रमलाई पत्र लेखेको रहेछ।

आफ्नो स्वार्थका लागि गरेको पापको प्रयश्चित्त गर्न विक्रमलाई थाहै नदिई शिल्पा र सञ्जयले तुरुन्तै काठमाडौंबाट प्रियकालाई झिकाउँछन्। प्रियंकाले पहिलेदेखि नै विक्रमलाई धेरै माया गर्ने गरेको र अब पनि झनै मायोको गाँठो बलियो हुनेमा उनीहरूले विक्रमलाई विश्वास दिलाउँछन्। केही दिनमै विक्रम र प्रियंकाको विवाह हुन्छ अनि उनीहरू सबै काठमाडौं फर्कन्छन्।

उपन्यासको सारांश यही हो। शायद धेरै उपन्यास लेखिसकेका डा. उपाध्याय कुशल लेखक भएर नै होला, सबैको भूमिकालाई उनले बलियो बनाएका छन्। एसिया बुक्स डिस्ट्रिब्युटर्स, काठमाडौंले प्रकाशन गरेको यो उपन्यास मनोरञ्जनात्मक एवं शिक्षाप्रद दुवै छ। युवायुवती, राजनीतिज्ञ, विद्यार्थी, प्रकृतिप्रेमी सबै पाठकका लागि उपन्यास पठनीय छ।

प्रतिक्रिया दिनुहोस्