प्रदेश नं ३ प्रमुख कोइरालाद्वारा पदभार ग्रहण



रोशन पराजुली, हेटौंडा

३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शनिबार प्रदेशको अस्थायी मुकाम हेटौंडामा पदभार ग्रहण गर्नुभएको छ।

हेटौंडास्थित प्रदेश कार्यालयमा प्रदेश प्रमुख कोइरालाले शनिबार साँझm करिब ६ बजे पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहणपछि उहाँले संविधानको भावनाबमोजिम देश विकासमा अगाडि बढ्न आग्रह गर्नुभयो। कोइरालाले आफूले पाएको जिम्मेवारी इमान्दारितासाथ पूरा गर्ने बताउनुभयो। प्रदेश प्रमुखको कार्यालयमा उहाँलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो।

कार्यक्रममा तत्कालिन उपक्षेत्रीय प्रशासक वेदप्रसाद खरेल र सहक्षेत्रीय प्रशासक मनोहरप्रसाद खनाललगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कोइरालालाई हेटौंडा–१० स्थित तत्कालिन मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर–१ बाट विजयी कृष्णप्रसाद दाहालसहित मकवानपुरबाट प्रदेशसभामा निर्वाचित डोरमणि पौडेल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, मुनु सिग्देल तथा जुनेली श्रेष्ठ, ३ नम्बर प्रदेश कार्यालय सचिव रेश्मीराज पाण्डे, जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगर उपमेयर मीना लामालगायतले स्वागत गर्नुभएको थियो।

कार्यक्रममा प्रदेश नम्बर–३ का प्रहरी प्रमुख, सुपारेटार ब्यारेक प्रमुख, सशस्त्र प्रहरी प्रमुख, विभिन्न सरकारी निकायका प्रमुख, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुखसहितले पनि स्वागत गर्नुभएको थियो।

कोइरालाको स्वागतका लागि हेटौंडाको चौकीटोलबाट सडक दायाँबायाँ घडा राखिएको थियो। प्रदेश प्रमुख र प्रदेश सदस्यहरु आउने भएपछि हेटौंडा बजारको सरसफाइसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ।

पदभार ग्रहण तथा ३ नम्बर प्रदेशका १३ जिल्लाका प्रदेशसभा सदस्यहरुलाई सपथग्रहण गराउन कोइराला शनिबार साँझm हेटौंडा आउनुभएको हो।

प्रतिक्रिया दिनुहोस्