आपत्कालीन क्लिनिक आधारभूत तालिमको तयारी पूरा



भगवती तिमल्सिना, काठमाडौँ

नेपाल रेडक्रस सोसाइटीले विपद्का बेला देखापर्न सक्ने पानीजन्य रोगहरूको उपचारका लागि मुलुकको जुनसुकै स्थानमा तत्कालै आपत्कालीन अस्पताल स्थापना गरी सेवा पुर्याउने आधारभूत तयारी पूरा भएको जनाएको छ।

सोसाइटीको स्वास्थ्य सेवा विभागका निर्देशक मोना अर्यालले यस कार्यका लागि निर्देशिका तयार भइसकेको बताउँदै उक्त कार्यमा खटिने प्राविधिक तथा बन्दोवस्तीकर्तालाई पहिलोचरणको तालिम दिइसकिएको जानकारी दिनुभयो।

सोसाइटीका अनुसार यस्तो आपत्कालीन सेवाका लागि सरकारसँग सम्झौता भइसकेको छ भने क्यानेडियनलगायत विभिन्न रेडक्रस सोसाइटीबाट पहिलोचरणको खटाइका लागि परिचालन खर्च आउने निश्चित भइसकेको छ।

क्यानेडियन रेडक्रसका प्राविधिक संयोजक जुलिया इवामाले सो कुरालाई प्रष्ट पार्दै भन्नुभयो– ‘२०७२ सालको भूकम्पको समयदेखि नेपालमा स्वास्थ्य सेवा गर्न क्यानेडियन रेडक्रसले गरेको सहयोगको यो निरन्तरता हो।’

यसै क्रममा विभिन्न अस्पतालका स्वास्थ्यकर्मी र रेडक्रसका स्वयंसेवकले गत सोमबारदेखि नै तेस्रोचरणको ५ दिने र शुक्रबार अन्तिम चरणको तालिम पूरा गरेका छन्। उनीहरू शुक्रबारदेखि नै फिल्ड अभ्यासमा जुटेको बताइएको छ। फिल्ड अभ्यासका क्रममा मोडल, पाटन, बीर अस्पताल र न्याम्सका चिकित्सक, नर्स एवम् स्वास्थ्यकर्मी, सोसाइटीका कर्मचारी, स्वयंसेवकले तालिममा सिकेको ज्ञानलाई कृत्रिम घटना अभ्यासमार्फत प्रदर्शन गरेका थिए। कार्यक्रममा २९ जना मुख्य सहभागी, प्राविधिक, सिमुलेटर र स्थानीय स्वयंसेवकको सहभागिता रहेको सोसाइटीका प्रचार संयोजक दिव्यराज पौडेलले जानकारी दिनुभयो।
तालिम तथा फिल्ड अभ्यासमा टेक्निसियनको भूमिकामा रहेकी सुभेच्छा मानन्धरले तालिम र अभ्यासबाट व्यावहारिक ज्ञान सिकेको बताउँदै भन्नुभयो– ‘पानी, बिजुली र उपकरण स्थापनाको सीप पनि रमाइलो तरिकाले सिकिरहेका छौँ।’

३ दिनसम्म चल्ने फिल्ड अभ्यासको पहिलो दिन शुक्रबार क्लिनिक सञ्चालनका लागि बिरामी प्रारम्भिक परीक्षण गर्ने स्थान, शौचालयसहितको आपत्कालीन बेड रुम, ओपीडी कक्ष, स्टाफ रुम, फार्मेसीजस्ता सेवाको पूर्वाधार खडा गरिएको थियो। यस्तै जेनेरेटर, पानीजस्ता बन्दोबस्तीको व्यवस्था गरी घाइतेको उपचार गरिएको थियो। दोस्रो दिन शनिबार विभिन्न किसिमका ६५ जना बिरामीको परीक्षण अभ्यास गरिएको थियो। यस्तै विपद्को अवस्थामा हुनसक्ने स्वास्थ्य समस्यालाई लिएर बिरामीहरूको चापसमेत बढेको सहभागी टिम लिडर सुरक्षा पौडेलले घटना अभ्यास स्थलबाट जानकारी दिनुभयो। उहाँका अनुसार यो अभ्यास आइतबार पनि जारी रहनेछ।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघको एसिया प्यासेफिक क्षेत्रका कोअर्डिनेटर क्याम, फिलिपिन्स रेडक्रसका एल अजनरिच आर मडली एम र फ्लोरिआन इ एडवान, क्यानेडियन रेडक्रसका डा. सेवास्टिन ल्यान्च र जुलिया आइवामा लगायतका विदेशी तथा स्वदेशी गरी २० जना प्रशिक्षकले फिल्ड अभ्यास सहजीकरण गरिरहनुभएको सोसाइटीका क्लिनिक कार्यक्रम संयोजक रश्मि श्रेष्ठले जानकारी दिनुभयो।
आइतबार हुने अभ्यास कार्यक्रमको अन्तिम मूल्यांकन र समीक्षाका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किम, नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष अजीत शर्मा, महामन्त्री देवरत्न धाख्वा, उपमहामन्त्री हरि प्रसाद न्यौपाने शनिबार नै कार्यक्रमस्थल पुगिसक्नुभएको छ।

यसैगरी विपद् व्यवस्थापन समितिका सभापति मनोजकुमार थापा, भूकम्प प्रतिकार्य प्रमुख उमेश ढकाल, कामु कार्यकारी निर्देशक इन्द्रबहादुर केसीसहित अस्ट्रेलियन रेडक्रस, अमेरिकन रेडक्रसका प्रतिनिधिहरू पनि सो स्थल पुग्नुभएको छ।

चितवनमा सञ्चालित आपत्कालीन स्वास्थ्य क्लिनिकको फिल्ड अभ्यासमा सरकार, रेडक्रसलगायत विभिन्न निकायको उच्चस्तरीय टोलीले शनिबार अवलोकन गरेको थियो।

सहजीकरण तथा अनुगमनका लागि कार्यक्रममा आउनुभएका स्वास्थ्य मन्त्रालय विपद् व्यवस्थापन शाखा प्रमुख डा. भेषराज पोखरेलले जुनसुकै बेला आउनसक्ने विपद्लाई ध्यानमा राखी सरकार पनि गम्भीर बनिरहेको बेला रेडक्रसबाट भएको उक्त कार्य झन् महत्त्वपूर्ण रहेको बताउनुभयो।
वीर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. सुखेन्द्रपुरुष ढकालले यस्तो अभ्यास यसअघि नै हुनुपर्ने जरुरी भए पनि अहिले स्थापना हुन लागेको आकस्मिक स्वास्थ्य क्लिनिकको ठूलो महत्त्व रहने धारणा व्यक्त गर्नुभयो।

नेपाल रेडक्रसका अध्यक्ष सञ्जीव थापाले २०७२ सालको भूकम्पपछि विभिन्न साझेदारसँगको सहकार्यमा आपत्कालीन अस्पतालमार्फत ६ हजार बढीको उपचार भएको बताउँदै थप्नुभयो– ‘त्यही अनुभवपछि आपत्कालीन स्वास्थ्य सेवाको क्षमता बढाउने सोचले यस्तो कार्यक्रम आयोजना गरिएको हो।’

प्रतिक्रिया दिनुहोस्