कामना फिल्म अवार्डस्–२०७४, मनोनयनमा परेका कलाकारको नजरमा कसले जित्छ अवार्ड?



विधाः मेक अप


के भन्न सकिन्छ र?


सरोज बुढाथोकी

फिल्मः डाइङ क्यान्डल र गाजलु
यो बारेमा मलाई केही थाहा छैन। जुरीहरूले गर्ने निर्णयमा के भन्न सकिन्छ र?

 

अरूको काम हेरेकै छैन

विश्वराम केसी

फिल्मः जात्रा
यो अवार्ड कसले पाउँछ भन्न सकिँदैन। मैले राम्रो काम गरेको छु। अरूको फिल्म हेरेको छैन, त्यस कारण पनि मलाई यसबारे कुनै आइडिया छैन।

जुरीको कुरा हामीले कसरी भन्ने?


ईश्वर श्रेष्ठ
फिल्मः के तिम्रो होइन र
त्यो त मलाई थाहा छैन। जुरीले गर्ने निर्णय हामीले भन्ने कुरा पनि भएन। सबैलाई आफ्नो काम राम्रो लाग्छ। यदि मैले आफ्नो नाम लिए भने अरूलाई राम्रो नलाग्ला नोमिनेसनमा परेकोमध्ये जो पनि विजेता बन्न सक्छ।

 

विधाः नृत्य निर्देशक


यो अवार्ड कविराजले पाउँछन्

रामजी लामिछाने
मनोनयनः किङको अधुरोबाट
पपुलारीटीको हिसाबमा चाहिँ कविराज गहतराजले अवार्ड पाउनुहुन्छ कि जस्तो लाग्छ। तर पनि काम त सबैले उत्तिकै मेहनतको साथ गरेका हुन्छन्। विगतमा पनि कविराजले अवार्ड पाइराखेकोले गर्दा उसले पाउला भनेको हो, तर सबैले राम्रो काम गरेको हुनाले सबैको सम्भावना भने उत्तिकै रहेको छ।

मलाई दिए हुने हो

विक्रम स्वाँर
मनोनयनः लुट २ को ठमेल बजारबाट
मेरो विचारमा फिल्म किङको अधुरो बोलको गीतबाट रामजी लामिछानेले अवार्ड पाउनुपर्छ। किनभने अरू अवार्डमा मैले र कविराज गहतराजले अवार्ड पाइसकेका छौं। छक्कापञ्जाको पूर्वपश्चिम रेलबाट डान्सिङ र लोक गीत तथा लुट–२ को ठमेल बजारबाट फरक किसिमको कोरियोग्राफी भनेर मैले र कविराज गहतराजले अवार्ड पाइसकेका छौं। किङको अधुरो थियो सपना बोलको गीत यस भन्दाअघि एउटा मात्र अवार्डमा नोमिनेसनमा परेको थियो। लभ सङ भएकोले राम्रो कोरियोग्राफी छ। कामना फिल्म अवार्डमा नोमिनेसनमा पर्नु नै ठूलो कुरा हो, अवार्ड मलाई नै दिए पनि हुने हो, हा..हा..हा..।

विधाः छायांकन


डाइङ क्यान्डल वा छक्का पञ्जाले पाउँछ

शैलेन्द्रध्वज कार्की
फिल्मः गाजलु
मेरो विचारमा डाइङ क्यान्डल र छक्कापञ्जामध्येबाट उत्कृष्ट छायाँकारको अवार्ड जान्छ। डाइङ क्यान्डलको इमेज क्वालीटी पनि राम्रो छ र यसमा फिल्मका क्यामेराम्यान रविन आचार्यले रिस्क लिएको देखिन्छ। तर नेपालको सन्दर्भमा यदि फिल्म चल्यो भने त्यसको सबै कुरा राम्रो हुन्छ भन्ने मान्यताअनुसार अवार्ड दिइन्छ। छक्कापञ्जा चलेको फिल्म हो। फिल्म बजारमा चल्यो कि चलेन भन्ने कुरालाई ख्याल गरेर अवार्ड दिइने चलन भएकोले कुनै फिल्म नचले पनि त्यसको कुनै एक पक्ष चलेको फिल्मभन्दा राम्रो हुन सक्छ भनेर सोचिँदैन। त्यस कारण छक्कापञ्जा चलेको फिल्म भएकाले छक्कापञ्जाबाट पुरूषोतम प्रधानले उत्कृष्ट छायाँकारको अवार्ड पाउन सक्ने सम्भावना पनि उत्तिकै छ।

मैले नै पाउँछु भन्छु

शिव ढकाल
फिल्मः शब्द
म त उत्कृष्ट क्यामेराम्यनको अवार्ड मैले नै पाउँछु भन्छु नि हा..हा..हा..। नेपालमा नेताले चुनाव जित्नुअघि चुनाव मैले नै जित्छु भन्छन्, त्यस कारण म पनि अवार्ड कार्यक्रम नभएसम्म अवार्ड आफूले पाउँछु भन्छु। ५ जनामा पाँचै जनाले अवार्ड पाउँछ भन्ने हँुदैन। जसले पाए पनि खुसी छु।

आफैंले पाउँछु भन्छु

पुरूषोत्तम प्रधान
फिल्मः छक्कापञ्जा र लुट २
मैलेभन्दा मेरो काम राम्रो भनूँला अरूलाई पनि आफूले गरेको काम नराम्रो लाग्ने कुरा भएन। सबैको काम राम्रो भए पनि मैले भन्नुपर्दा मैले नै उत्कृष्ट छायाँकारको अवार्ड पाउँछु भन्छु। ६ जना परेको यो विधामा म छक्कापञ्जा र लुट २ फिल्मबाट नोमिनसनमा परेको रहेछु। यी दुवै फिल्म छुट्टाछुट्टै जनराका फिल्म हुन्। दुईवटै फिल्मलाई त्यहीअनुसारको सिनेम्याटीक वेमा खिचेको छु, दुवै फिल्मलाई न्याय गरेको छु। अवार्ड जसले पाए पनि राम्रो मान्छेले पाउनुपर्छ भन्ने मलाई लाग्छ।

निष्पक्ष र स्वच्छ हुनुपर्छ

निरज कँडेल
फिल्मः चपली हाइट–२
नोमिनेसनमा परेकोमा खुसी छु। उत्कृष्ट छायाँकरको नोमिनेसनमा पर्ने सबै जना साथीले राम्रो काम गर्नुभएको छ। रविन आचार्य पनि पढेर आएको मान्छे हो। अवार्ड जसले पाए पनि फरक परेन तर निष्पक्ष र स्वच्छ हुनुपर्छ।

 

विधाः सम्पादन


मलाई त आशा छ

विपिन मल्ल
फिल्मः छक्कापञ्जा
आफैं कम्पिटिसनमा भएपछि पक्कै पनि सबै जनालाई आफूले नै जित्छु जस्तो लाग्छ। मलाई पनि आफूले अवार्ड पाउँला जस्तो लाग्छ। मसँग कम्पिटिसनमा हुने अन्य साथीलाई पनि आफूले अवार्ड पाउँछु कि भन्ने लाग्ला। मैले योभन्दा अघि पनि बेस्ट एडिटरको अवार्ड पाएकाले गर्दा आफूले पाउँछु भन्ने आशा र विश्वास छ।

आफैंले पाउँछुजस्तो लाग्छ

सुरेन्द्र पौडेल
फिल्मः गाजलु र लुट–२
यो त जुरीहरूमा डिपेन्ड हुने कुरा हो। सबैको काम राम्रो छ मैले पनि राम्रो काम गरेको छु। गाजलु र लुट–२ गरी २ फिल्मबाट नोमिनेसनमा परेकाले गर्दा आफूले अवार्ड जित्छु कि जस्तो पनि लाग्छ।

 

आशा छ छ

मित्र डी गुरूङ
फिल्मः जात्रा
त्यो त भन्न गाह्रो छ। सबैले आ–आफ्नो तर्फबाट राम्रो काम गरेका छन्। त्यही पनि आफूले काम राम्रो गरेको आधारमा आफूले जित्छु भन्ने कन्फिडेन्ट त भइहाल्छ। अवार्ड कसले जित्छ भन्न सक्दिन तर आफूले जित्छु कि भन्ने आशाचाहिँ छ।

सबैलाई आफ्नो काम राम्रो लाग्छ

भूपेन्द्र अधिकारी
फिल्मः डाइङ क्यान्डल
अवार्ड कसले पाउँछ भन्दा पनि आफूले गरेको काम सबैलाई राम्रो लाग्छ। मैले पनि राम्रो काम गरेको छु। नेपालमा पहिलो प्रयास हो। केही समयअघि सार्क फिल्म फेस्टिबलमा पनि मैले बेस्ट एडिटरको अवार्ड पाएको थिएँ। सबैको काम राम्रो छ, पक्कै पनि जुरीले सही मूल्याङ्कन गरेर नै निर्णय गर्नुभएको होला जस्तो लाग्छ।

विधाः पाश्र्व संगीत


भन्नै सक्दिनँ

एलिस कार्की
फिल्मः के म तिम्रो होइन र
मैले नोमिनेसनमा पर्ने सबै फिल्म हेरेको छैन। छक्कापञ्जाचाहिँ हेरेको छु, यसमा पाश्र्व संगीत राम्रो छ।तर पनि सबै फिल्म नहेरेकाले यही फिल्मले अवार्ड पाउँछ भनेर बोल्न सक्दिन।

 

जसले पाए पनि खुसी

सुजिल कर्माचार्य
फिल्मः छक्कापञ्जा
सबै फिल्ममा सबैले राम्रो काम गरेका छन्। कम्पिटिसनमा गएपछि त्यहाँ हरेक कुरा हेरेर जुरीले निर्णय गर्छन्। अवार्ड भनेको भाग्य र कर्ममा पनि भर पर्छ। यस कारण म यसमा न्युट्रल नै छु। उत्कृष्ट पाश्र्व संगीतको अवार्ड जसले पाए पनि खुसी छु।

प्रतिक्रिया दिनुहोस्