न्याय पाउन के गुर्नपर्छ ?



कोही विशेष मुद्दा हुन्छन् होला तत्काल फैसला हुने खालका, तर वर्षौं रहने खालका त पक्कै हुँदैनन्। गोरखा फुजेलकी गंगामाया अधिकारीलाई न्याय निकै महँगो भएको सावित हुँदै छ। गत ३ वर्षभन्दा बढी समयदेखि उनी राजधानीको वीर अस्पतालमा आमरण अनशन बसिरहेकी छिन्। उनका छोरा कृष्णप्रसाद अधिकारीको चितवनको रत्ननगरमा तत्कालीन माओवादी विद्रोहीले दिनदहाडै गोली हानी हत्या गरेको थियो। हाल चितवन जिल्ला अदालतमा प्रक्रियामा रहेको उक्त मुद्दाको पेसी २०औं पटक सरेको छ। यही विषयलाई लिएर अनशन बसेका गंगामायाका पति नन्दप्रसाद अधिकारीको ३ वर्षअघि आमरण अनशनकै क्रममा मृत्यु भएको थियो। उनको लास अहिले पनि त्रिविवि शिक्षण अस्पताल महाराजगन्जको लासघरमा बेवारिसे अवस्थामा रहेको छ।

नेपालको न्याय सबैका पहुँचमा छैन भन्ने कुरालाई पुष्टि गर्नुपर्यो भने यो घटना आफैंमा काफी छ। तर, सरकारको पुस १३ गते बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई अतिरिक्त समयमा हाजिर भएर काम गरेबापत तलबको ५० प्रतिशत भत्ता गत मंसिरदेखि नै लागू हुने गरी आवश्यक व्यवस्था मिलाउन मन्त्रिपरिषद् सचिवालयले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई पत्र पठाएको छ। सर्वोच्च अदालतका न्यायाधीश जस्तो सम्मानित पदमा पुगेका व्यक्तिले यसरी राज्यकोषमा थप भार पर्ने गरी सुविधा लिन खोज्नु आफैंमा राम्रो काम भने अवश्य पनि होइन। यो प्रक्रियामा न्यायप्रेमी जनताले भत्ता लिने र दिने दुवैलाई दोषी ठानेका छन्।

सर्वोच्च अदालतका कर्मचारीसमेत सरकारको यो निर्णयप्रति सन्तुष्ट देखिएका छैनन्। सुविधा जति थपे पनि पुग्दैन। ठूलाबडाका लागि मात्र गरिएको यो व्यवस्थाले ठूला र साना कर्मचारीबीच भएको विभेदकारी नीतिलाई निरन्तरता दिएको हामीले अनुभव गरेका छौं। दीपक मनाङेलाई विभिन्न अपराधमा ५ वर्ष जेल सजाय तोकेर स्याबासी कमाएको सर्वोच्च अदालतले सुविधा वृद्धि हामीलाई चाहिँदैन, वर्तमानकै तलब सुविधा पर्याप्त छ भन्न कुनै पनि न्यायाधीशले मुख खोलेका छैनन्। एउटै मुद्दाको पटक–पटक अर्थात् २०औं पटकसम्म पेसी तोकेर मुद्दा लम्ब्याइरहने प्रवृत्तिले कस्तो खालको न्याय निरूपण गर्ला भनेर कल्पना गर्न हामी बाध्य भएका छौं। विभिन्न तहका अदालतमा बढ्दै गएको मुद्दाको चापले या त समाजमा अपराधीहरूको संख्या बढेको छ भने छिटो–छिटो मुद्दा नछिनेर न्यायाधीशकै कारण मुद्दाको चाप बढेको हुनसक्ने अनुमान मात्र हामी गर्न सक्छौं। यसरी सर्वोच्च अदालतका न्यायाधीशलाई मात्र सरकारले उपलब्ध गराउन खोजेको प्रोत्साहन भत्ता अवैज्ञानिक र अदूरदर्शी निर्णय हो भन्ने हामीलाई लागेको छ। यो विषयमा अदालत गम्भीर बन्न जरुरी देखिन्छ।

– सुरक्षा भुसाल, काठमाडौं
महिला हिंसा महिलाबाटै धेरै
पितृ सत्तात्मक समाजलाई दोष दिनु ठीकै हो। तर, पुररुषलाई दोष दिएर महिलाले आरोप लगाउनु किमार्थ मान्य हुँदैन। महिलाको शत्रु महिला नै हो। आज समाजमा जति पनि महिला हिंसाका घटनाहरू घटेका छन्, ती सबैको कारक तत्त्व महिला नै हुन्। आजसम्म कसैले देख्नुभाको छ ? ज्वाइँ–ससुराबीच झगडा परेर प्रशासनमा उजुरी परेको घटना ? जति खोजे पनि पाइँदैन बुबा–छोराको काटाकाट, मारामारका घटनाहरू तर आँखा छोपेर हिँड्दा पनि सासू–बुहारीको कुरा नमिलेर कपाल लुछालुछ, बाजाबाज गरेका घटनाहरू देखिन्छन्। आखिर दुवै महिला नै हुन्, किन झगडा गर्नु ? एक–आपसमा किन मिल्न सक्दैनन् ?

पतिले सौता ल्यायो भनेर महिला सेलमा उजुरीका घटनाहरू धेरै छन्। आखिर त्यो पतिले ल्याएको सौता पनि महिला नै हुन्। हामी महिलाले सबै सहन सक्छौं तर सौता सहन सक्दैनौं। आफ्नो खुसी चाहनेले अर्कोको खुसी लुट्नु राम्रो होइन। आज गाउँघरमा जति पनि नराम्रा घटनाह, द्वन्द्वात्मक व्यवहार घट्छन् त्यसभित्र प्रायःजसो महिलाको ठूलो हात हुन्छ।

देउरानी–जेठानीमा झगडा, सासू–बुहारीमा झगडा, नन्द–भाउजूमा झगडा, आखिर यी सबै महिला नै हुन्। ९ महिनासम्म एउटा बच्चालाई गर्भमा विभिन्न समस्या, दुःख, पीर झेल्दै जन्माउन सक्ने महिलाले सोच्न, विचार गर्न र निर्णय गर्न सक्ने क्षमता हुँदैन ? आज अफ्नै बुद्धि भ्रष्ट भएर महिलापछि परिरहेका छन्। छोरा र छोरीमा विभेद गर्ने पनि महिला नै हुन्। छोराको घरमा आउने, खाने, पढ्ने, घुम्ने कुनै समयतालिका हुँदैन तर छोरीले घरको सबै कामकाज सकेर आमालाई खुसी पारेर पढ्न जाँदा पनि आमाको मुख कालो हुन्छ। कहींकतैबाट घरमा आउन अलिकति ढिलो भयो भने मर्ने गरी पिट्ने, गालीगलौज पनि आमा नै हुन्। छोरीले नम्र भएर बोल्नुपर्ने, कसैसँग मुख लगाउन नहुने, अरूसँग बोल्दा शिर निहुराएर बोल्नुपर्ने आदि बन्धनमा राख्ने पनि आमा हुन्।

बोक्सी भनेर सेतो कपाल फुलेकी बूढीआमालाई कुटपिट गर्ने, मलमुत्र खुवाउने, गाउँ निकाला गर्नेजस्ता अप्रिय व्यवहार पुरुषले नगरेर महिलाले नै गर्छन्। दिनभरि लुते कुकुरझैं गाउँ चहारेर फलानीकी आमा त्यस्ती, तिलानाकी पत्नी त्यस्ती, कसैकी छोरी कत्ति उत्ताउली, बाटोमा केटासँग बोल्दै थिइन् भन्ने ताइँ न तुइँको बात मार्ने काम पनि महिलाले नै गर्छन्। विधवालाई देख्नासाथ साइत पर्दैन, मलाई आज बोक्सीले मर्ने गरेर टोकी, आजभोलि मेरो शरीर साह्रै दुख्छ, मलाई कसैको आँखा लाग्यो जस्ता यावत नाटक गर्ने महान् कलाकार पनि महिला नै हुन्।

मैं खाउँ, मैं लाउँ, सधैं मोजमस्ती मैले नै गर्न पाउँ, दुनियाँले मलाई नै राम्री भनुन् भनेर महादेवको मन्दिरमा घण्टी बजाएर पुकार प्रार्थना गर्ने वरिष्ठ भक्त पनि महिला नै हुन्। हे भगवान् ⁄ कहिले लाग्ला यी महिलाको घैंटोमा घाम ? नारी दिवस आउनै हुन्न ठूला–ठूला भाषण गर्दै भन्ने गर्छन्– ‘हामी सम्पूर्ण नारी एक हौं। एउटा महिलाले अर्को महिलालाई माया गर्नुपर्छ।’ यस्तो बडो गजबको प्रवचन दिने पनि महिला नै हुन्। त्यसैले बूढापाकालेहरू भन्छन्– ‘भुक्ने कुकुरले टोक्दैन, टोक्ने कुकुरले भुक्दैन।’

छोरीलाई माया गर्ने ज्वाइँलाई ज्ञानी, इमानदार, आहा कति राम्रो बानी छ हाम्रो ज्वाइँसाबको भनेर ङिच्च हाँस्ने पनि महिला नै हुन्। अनि बुहारीलाई छोराले माया गर्यो भने छोरालाई नामर्द, हुतिहारा, हिम्मत नभाको, जोइटिंग्रे, स्वास्नीको फरियामा लुक्ने छिःछिः तँ जस्तो छोरा हुनुभन्दा अपुताली परेको भए हुन्थ्यो नि भन्दै टाउकोमा हात लगाएर आँसु झार्ने पनि महिला नै हुन्।

एउटी महिलाले अर्को महिलालाई माया, सहयोग र इज्जत गर्नुपर्छ। हामी हिंसा भयो भन्दै आवाज उठाउँछौं, उजुरी गर्छौं तर हामी महिलाले नै एकले अर्कोलाई हिंसात्मक व्यवहार गरेका छौं। हामीमाथि जति पनि हिंसा भएका छन् ती सबै व्यवहार महिलाबाटै भएका छन्। हामी महिला माया एवं दयाकी खानी हौं। हामीले आजैबाट हिंसा त्यागौं। सभ्य, शान्ति र हिंसात्मक समाज निर्माण गरौं। सबै महिला सचेत बनौं।
– पूजा केसी, पोखरा

प्रतिक्रिया दिनुहोस्