निगरानी अझ प्रभावकारी बनाऊ



करिब ७ केजी लागूऔषध कोकिनसहित चार विदेशी नागरिक शुक्रबार काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरोले बोलेभियन नागरिक फ्रेडी ममनी एन्डिया, सोही मुलुकका रोजी गिड्डी टोलेडो र अदमर एनेज लोपेजसहित थाई महिला खुइनजाई खनरतलाई पक्राउ गरेको हो । चारै जना गत साउनदेखि यही माघ पहिलो साताभित्र विभिन्न मितिमा पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार फ्रेडी ममनी एन्डिया र थाई महिला खनरतलाई १ किलो ९ सय ५८ ग्राम कोनिनसहित काठमाडौंको ठमेलस्थित एक होटलबाट पक्राउ परेका हुन् ।

उनीहरू कोकिन लेन–देनकै लागि बोलेभियाबाट ब्राजिल, इथोपियाबाट भारत हुँदै नेपाल आएका बताइएको छ । पक्राउ परेकाहरू लामो समयदेखि अन्तर्राष्ट्रियरूपमा लागूऔषध कारोबारमा संलग्न रहेको र उनीहरूले नेपाललाई ट्रान्जिट गन्तव्य बनाएर यस्तो कारोबारमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । पछिल्लो समयमा फेरि त्यस्तै कारोबार गर्न र कोकिन तेस्रो मुलुक पठाउने योजनामा जुटेका बेला उनीहरू पक्राउ परेको प्रहरीको दाबी छ । यस्तै कारोबारको सिलसिलामा गत साउन २६ गते बोलेभियन महिला रोजी गिड्डी टोलेडो भालेजोस ३ किलो ५४ दशमलव ५ ग्राम कोकिनसहित प्रक्राउ परेकी थिइन् । गत असोज ७ गते सोही मुलुकका नागरिक अदमर एनेज लोपेजलाई पनि ब्युरोले २ किलो ७ सय ग्राम कोकिनसहित पक्राउ गरेको थियो ।

विगत ६ महिनाको अवधिमा प्रायः एउटै मुलुकका नागरिक लागूऔषधको एउटै कारोबारमा पक्राउ पर्नु प्रतिनिधि घटना मात्रै हुन सक्छ । लागूऔषध कारोबारका अन्य घटना पनि विभिन्न मितिमा दोहोरिँदै आएका छन् । अधिकांश घटनामा विदेशी नागरिक संलग्न रहने गरेको विभिन्न समयका घटनाक्रमले पुष्टि गरेको छ । कारबाहीको दायरामा आएकालाई सामान्य कारबाही प्रक्रियाबाट उम्कने⁄उम्काइने वातावरण बनाइनुहुँदैन । यसका लागि बनेका कानुनलाई कडारूपमा कार्यान्वयन गरिनुपर्छ । अहिले मुलुक तरल राजनीतिक अवस्थामा रहेका बेला काठमाडौं केन्द्रित गरेर यस्तो कारोबारमा संलग्न रहनेका लागि सजिलो मौका हुन सक्छ ।

त्यसैले लागूऔषध कारोबारीले काठमाडौंलाई ‘ट्रान्जिट हब’ बनाएर आफ्नो कारोबार बढाइरहेका बेला प्रहरीसहित राज्यका अन्य निकायले निरन्तर निगरानी बढाउन जरुरी छ । यस्तो निगरानीलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न अति आवश्यक छ । निगरानीका क्षेत्र विमान र अन्य स्थलनाका पनि हुन सक्छन् । यसका साथै लागूऔषध कारोबारमा दोहोरिँदै आएका मुलुकका नागरिकलाई प्रदान गरिने प्रवेशाज्ञामा अझै कडाइ गर्नुपर्दछ । सरकार र उसका जिम्मेवार निकायले यी कुरामा ध्यान दिएमा लागूऔषध ओसारपसार न्यूनीकरण हुन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्