डाइनोसर युगमा पेन्गुइन अस्तित्वमा



वेलिङ्टन, (एजेन्सी)
पृथ्वीमा ६ करोड १० लाख वर्ष अघिदेखि नै पेन्गुइन पक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ।

परापूर्वकालदेखि पृथ्वीमा विचरण गर्दै आएका सबभन्दा भीमकाय जीव डाइनोसरको उत्पत्ति शुरु भएको युगभन्दा पनि धेरै पहिलादेखि नै पेन्गुइन पक्षी अस्तित्वमा रहेको न्युजिल्यान्डको क्राइस्टचर्चमा स्थित क्यान्टब्युरी जीव सङ्ग्र्रहालयले दाबी गरेको छ।

यसअघि पृथ्वीमा डाइनोसरको उत्पत्ति भइसकेपछि मात्र पेन्गुइन पक्षीको उत्पत्ति भएका हुन् विश्वास गरिँदै आएको थियो।

न्युजिल्यान्डमा हालै फेला परेको एउटा पेन्गुइनको अत्यन्त पुरानो र विशाल जीवाशेषको अध्ययनबाट अनुसन्धानकर्ता उक्त निष्कर्षमा पुगेका संग्रहालयले खुलासा गरेको हो।

न्युजिल्यान्डको दक्षिणी द्वीप (साउथ आइल्यान्ड)को पूर्वीय खण्ड क्यान्टरब्युरी इलाकाको वाइपारा नदीको किनारामा उक्त पेन्गुइनको खुट्टाको माथिल्लो भाग र औंलाको अस्थिपन्जर फेला परेको थियो।

यसअघि पनि वाइपारा नदीवरपर धेरै प्रजातिका जीवहरुको जीवाशेष फेला परेका थिए। तीमध्ये कछुवा, विभिन्न प्रजातिका सार्क माछा, ठूलो प्रजातिका अन्य माछा, २ प्रजातिका चराचुरुङ्गी, वाइम्यानु नामक पेन्गुइन जस्तै अर्कोथरीको पक्षी तथा अन्य प्राचीन पक्षीको अस्थिपञ्जर डाइनासोर लोप भएको ४० लाख वर्षपछि पनि सुरक्षित वा नकुहिएको अवस्थामा भेटिएका संग्रहालयका वरिष्ठ कर्मचारी प्रोफसर पल स्कोफिल्डले बताएका छन्।

हाल फेला परेको पेन्गुइनको अस्थिपञ्जरको सूक्ष्म अध्ययनबाट जीवशास्त्रीहरुले पेन्गुइन जीवित हुँदा करिब १ सय ५० सेन्टिमिटर अग्लो र तुलनात्मक रूपमा ठूलो आकृतिको हुनुपर्ने बलियो सम्भावना रहेको अनुमान गरिएको छ।

उक्त पेन्गुइनको अस्थिपञ्जर अहिलेसम्म संसारमा फेला परेका पेन्गुइनका अस्थिपञ्जरमध्ये अति पुरानो र करिब ६ करोड १० लाख वर्षअघिको हो।
यसअघि, पालेओसिन प्रजातिका ५ करोड ६० लाखदेखि ६ करोड ६० लाख वर्षबीचको पेन्गुइनका प्राचीन र ठूल्ठूला अस्थिपञ्जर फेला परिसकेका छन्। तर यो अस्थिपञ्जर भने आकारमा अझ विशाल रहेको संग्रहालयको दाबी छ।

‘यसअघि विश्वास गरेभन्दा अझै प्राचीन समय अर्थात् इतिहासको उत्पत्ति कालभन्दा पहिलेदेखि पेन्गुइन यस धरतीमा आइसकेका रहेछन् भन्ने तथ्य न्युजिल्यान्डको यस अनुसन्धानबाट उजागर भएको छ।’ –जर्मनीको सेन्केन्बर्ग रिसर्च इन्स्टिच्युटका अनुसन्धान टोली प्रमुख, जीवशास्त्री डा. जेराल्ड मेयरले बताए।

प्रतिक्रिया दिनुहोस्