आम हड्ताल स्थगित



नेपाल समाचारपत्र, दाङ । दाङमा प्रदेश राजधानी माग गर्दै माघ २ गतेदेखि शुरु भएको आम हड्ताल स्थगित भएको छ ।
संयुक्त संघर्ष समितिको शनिवार बसेको बैठकले निर्वाचन आयोगको आग्रहलाई ध्यान दिएर आसन्न राष्ट्रियसभा चुनावलाई मध्यनजर गरी हड्ताल स्थगित गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै आइतवारदेखि बजार, कलकारखाना, उद्योगधन्दा, शिक्षणसंस्था, यातायात सबै सञ्चालनमा आउने छन् ।
बैठकले हड्ताल सफल पार्न सहयोग गर्ने सबैमा धन्यवाद दिने निर्णय गरेको छ । बैठकले आन्दोलनको स्वरुप परिवर्तन गरे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । जसअनुसार आइतवार सबै घरमा कालो झण्डा गाड्ने, सार्वजनिकस्थलमा कालो झण्डा गाड्ने र दिउँसो १ बजे घोराही, तुलसीपुर, लमही र भालुवाङमा कालोपट्टीसहित प्रदर्शन गर्ने निर्णय गरिएको संयुक्त संघर्ष समितिका सचिव निर्मल आचार्यले जानकारी दिनुभयो ।

संयुक्त संघर्ष समितिका संयोजक टीकाराम खड्काको अध्यक्षतामा भएको बैठकमा कांग्रेस सभापति कृतिबहादुर खड्का, माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमलगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्