कोरीयनको सहयोगमा दोलालघाटमा विद्यालय भवन



 

काभ्रे, दोलालघाट। ‘खुशी बाँडौ’ भन्ने नारा साथ सामाजिक क्रियाकलापमा सक्रिय सुखवती फाउण्डेशनले काभ्रेको दोलालघाटमा दुलालेस्वर उच्च माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ ।

कोरियाको अल माइ किड्स र वुग्यदन याथोलिक चर्चको करिब रु ५० लाख सहयोगमा फाउण्डेशनले छ कोठे विद्यालय भवन र दुई कोठे शौचालय भवन बनाएको फाउण्डेशनका अध्यक्ष चीजमान गुरुङले बताउनुभयो c

साढे तीन सय विद्यार्थी अध्यनरत सो विद्यालय भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि उनीहरु भोटेकोशी नदी किनारमा टिनको टहारमा पढ्दै आएका थिए । अधिकांश माझी जातिका विद्यार्थी पढ्ने सो विद्यालयमा भूकम्प प्रतिरोधात्मक भवन बनेपछि पठनपाठन सहज बनेको विद्यालयका प्राचार्य अशोकचन्द्र झाले बताउनुभयो ।

अल माई किड्सका अध्यक्ष कीम योङगोक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द उप्रेतीले हालै सो नवनिर्मित भवनको उद्घाटन गर्नुभयो ।

सो अवसरमा फाउण्डेशनका अध्यक्ष गुरुङ र अल माई किडसका अध्यक्ष कीमले विद्यालयलाई शैक्षिक सामग्री समेत प्रदान गर्नुभएको थियो ।

फाउण्डेशनले एकको वेकार अर्कोको सरोकार र तपाईको पुरानो सामान अरु कसैका लागि नयाँ हुन सक्छ भन्ने मर्मकासाथ एकचोटि प्रयोग भएका सामान संकलन गर्ने, त्यसलाई प्रशोधन गरी पुनः प्रयोग गर्ने, सामानको मूल्य राख्ने र सस्तो मोलमा बेच्ने काम गर्दै आएको छ ।

फाउण्डेशनका सचिव कमला गुरुङले भान्साका सामग्री, कपडा, जुत्ता, गमला, विद्युतीय र खेलाउने सामान दान लिएर त्यसको पुन प्रयोगयोग्य बनाएर उपयोगमा ल्याउने बताउनुभयो ।

टिसर्ट, जुत्ता, सिडीजस्ता कतिपय सामानको मूल्य रु १० बाट शुरु भएर अलि राम्रो सट, पाइन्टको मूल्य रु २०, ४०, ८० देखि २५० सम्म सामान हेरेर मूल्य राख्ने गरिएको फाउण्डेशनका कोषाध्यक्ष लक्ष्मीदेवी गुरुङले बताउनुभयो । सामाखुशी टाउनप्लानिङमा त्यसको बिक्री कक्ष राखिएको छ ।

फाउण्डेशनले गोर्खाको थालजुङमा दिगो कृषि योजनाअन्तर्गत अलैँची एवं काठमाडौँ दक्षिणकाली टुल्कुमा टनेलमा बेमौसमी तरकारी खेती कार्यक्रम सञ्चालन गर्न लागेको सदस्य केशकुमारी रानाले जानकारी दिनुभयो ।

भुइँचालो आएपछि कोरियाको ब्यूटिफुल स्टोर फाउण्डेशनसँग मिलेर प्रतिष्ठानले रसुवा, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका १३ गाविसका पाँच हजार ८०० घर परिवारलाई करिब रु ८० लाख मूल्य बराबरका आठ हजार सिरक वितरण गरेको थियो ।

त्यस्तै फाउण्डेशनले कोरियाको ह्याप्पी फयाक्ट्रीसँग मिलेर रु २७ लाखको लागतमा नुवाकोटको हिलेखर्कस्थित गारबेँसी निमाविको भवन निर्माण गर्नुका साथै भूकम्पपीडितलाई अस्थायी टहरासमेत निर्माण गरेको उपाध्यक्ष राजेन्द्रबहादुर लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्