बेवारिसे बन्दै नवजात शिशु , दाबी गर्ने अभिभावक भेटिएनन्



सुरेश तामाङ, काठमाडौं

चाबाहिल गोपिकृष्णनजिकै बिहीबार बिहान नवजात शिशु व्यवारिसे अवस्थामा भेटियो। फोहोरको डंगुरभित्र प्लास्टिकभित्र मोडिएर राखेको शिशु रोइरहेको सुनेपछि बिहान फोहोर फाल्न पुगेका स्थानीयले प्रहरीमा खबर गरे।

प्रहरीले त्यस शिशुलाई त्यहाँबाट उद्धार गरी स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याइयो। स्वास्थ्य जाँचपछि अस्पतालले शिशु स्वस्थ रहेको बताएको छ। अस्पतालले उक्त फेला परेको नवजात शिशु बालिका भएको र उमेर २ देखि ३ महिनासम्म रहेको पुष्टि गरेको छ।

उक्त नवजात शिशु पूर्ण स्वस्थ्य रहेको अस्पतालले जनाएपछि बालबालिका खोजतलास समन्वय केन्द्रको संरक्षणमा बालगृहमा राखिएको छ।

गएको साउन ११ गते कीर्तिपुरको चोभारस्थित मुख्य सडकसँगैको मकैबारीभित्र रोइरहेको अवस्थामा नालसालसहितको नवजात शिशु बालक बेवारिसे अवस्थामा फेला पर्यो। उनलाई पनि केन्द्रले सकुशल उद्धार गरी आफ्नो संरक्षणमा राखेको छ।

त्यस्तै गएको असोज १८ गते ललितपुरको लुभुस्थित गणेश मन्दिरको पेटीमा अन्दाजी २० देखि ३० दिनको नाबालिका बेवारिसे अवस्थामा फेला पर्यो। यिनलाई पनि केन्द्रले आफ्नो संरक्षणमा राखी पालनपोषणमा राखिएको छ।

यी उपत्यकाभित्र केन्द्रले उद्धार गरेका बेवारिसे अवस्थामा फेला परेका नवजात शिशुहरू हुन्। यस्ता व्यवारिसे अवस्थामा छोडिएका घटनाहरू पछिल्लोपटक वृद्धि भइरहेको केन्द्रका अधिकृत सन्तोष अधिकारीले बताउनुभयो।

बेवारिसे अवस्थामा फेला परेका यस्ता नवजात शिशुमध्ये अधिकांश नाबालिका फेला परेको केन्द्रले जनायो। पितृसतात्मक मुलुकमा बालिकाको भन्दा बालकको आवश्यकता चाहेको सामाजिक परिपाटीले गर्दा बालिका जन्मिँदा यसरी बेवारिसे अवस्थामा छोडिने क्रम बढेको हुन सक्ने केन्द्रको आशंका छ। अनैतिक सम्बन्धबाट जन्मिएका शिशु यसरी फालेको हुन सक्ने केन्द्रले जनायो।

केन्द्रले मात्रै पछिल्लोपटक बेवारिसे अवस्थामा छोडिएका ५ नवजात शिशुलाई उद्धार गरी संरक्षणमा राखेको छ। केन्द्रको संरक्षणमा रहेका यी नवजात शिशुहरूले शिक्षादीक्षा, लालनपालनदेखि सम्पूर्ण सुविधा दिइरहेको केन्द्रले जनायो।

उहाँका अनुसार यी शिशुहरूको कोही अभिभावक पनि अहिलेसम्म दाबी गर्न आइपुगेका छैनन्। केन्द्रले प्रक्रिया थालेर अभिभावक खोज्ने कामलाई तीव्रता दिएको केन्द्रका अधिकृत अधिकारीले बताउनुभयो।

केन्द्रका अनुसार वार्षिक ४ देखि ६ जना यस्ता बेवारिसे नवजात शिशु भेटिने गरेको छ। केन्द्रको तथ्यांकमा चालू आवमा १८ वर्षमुनिका २ सय बालबालिका बेवारिसे अवस्थामा फेला परेको उल्लेख गरिएको छ।

जसमध्ये केन्द्रले १ सय ३१ बालबालिकालाई पारिवारमा पुनर्मिलन गराइएको र ६९ जनालाई संरक्षण गृहमा राख्दै परिवारको खोजीकार्य तीव्र पारेको छ।

प्रतिक्रिया दिनुहोस्