पेले अस्पताल भर्ना



रियो दी जनेरियो, (एजेन्सी)
ब्राजिलका प्रसिद्ध फुटबलर पेले थकानले ढलेपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। ७७ वर्षीय पेलेको आइतबार सम्मानका लागि लन्डन भ्रमण गर्ने कार्यक्रम थियो। लन्डनको फुटबल राइटर्स एसोसिएसन (एफडब्ल्युए) ले उनको सम्मानमा लन्डनस्थित होटलमा रात्रि भोजका आयोजना गर्ने कार्यक्रम रहेको थियो। तर पेले बिहीबार सबेरै ढलेपछि उनलाई अस्पतालमा भर्ना गरिएको पनि एफडब्ल्युएले जनायो। साथै कार्यक्रम स्थगित भएको पनि एफडब्ल्युएले जनाएको छ।

अस्पतालबाट जारी गरिएको विज्ञप्तिमा पेलेलाई कुनै गम्भीर समस्या नभएको केवल थकानले ढलेको उल्लेख गरिएको छ। हालै वर्षमा पनि पेलेलाई मिर्गौला र प्रोस्टेट समस्या भएर अस्पतालमा भर्ना गरिएको थियो। अघिल्लो पटक डिसेम्बरमा फिफा विश्वकपको ड्र मास्कोमा सार्वजनिक गर्दा उनी ≈वीलचेयरमा रहेर उपस्थित भएका थिए।

पेले ३ विश्वकप जित्नेमा एक मात्र खेलाडी हुन्। उनकै योगदानमा ब्राजिलले १९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको थियो। उनी फिफाको शताब्दी खेलाडी र महान सदाबहार खेलाडीबाट सम्मानित भइसकेका छन्। पेलेले २१ वर्ष खेलाडी करिअरमा १ हजार ३ सय ६३ खेल खेलेका थिए। जसमा उनले १ हजार २ सय ८१ गोल गरे। त्यस्तै ब्राजिलका लागि उनले ९१ खेल खेलेर ७७ गोल गरेका थिए। जब कि विश्वकपमा १२ खेल खेलेर १४ गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्