एक सातामा लगानीकर्ताको ३९ अर्ब गुम्यो



नेपाल समाचारपत्र
काठमाडौं
चालू आवको तेस्रो त्रैमासको पहिलो साता अर्थात माघको पहिलो साता नेप्से परिसूचक ३३ दशमलव ७७ अंकले घटेको छ। साताको पहिलो दिन १ हजार ४ सय ४० दशमलव २९ को विन्दुबाट शुरू भएको अन्तिम दिन बजार १ हजार ४ सय ६ दशमलव ५२ को बिन्दूमा पुगेर रोकिएको हो।

जम्मा तीन दिन मात्र कारोबार भएको शेयर बजार तीनै दिन नै ओरालो लागेको थियो। परिसूचक बढ्दा यस साता कारोबार रकममा भने कमि आएको छ। कारोबार रकम अघिल्लो साताभन्दा ३५ दशमलव ९८ प्रतिशत कम हो।

यस साता नेप्सेमा १ अर्ब ९ करोड ५४ लाख ८५ हजार रुपियाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्स्चेन्जले जनाएको छ। सो क्रममा नेप्सेमा १ सय ७० कम्पनीका २४ लाख ६१ हजार ६ सय कित्ता शेयर किनबेच भए। सातभरि कुल १२ हजार ७ सय २८ कारोबार भए।

अघिल्लो साता बजारमा १ सय ७४ कम्पनीका ४१ लाख ५ हजार २ सय १० कित्ता शेयर १ अर्ब ७१ करोड १२ लाख ८४ हजार रुपियाँमा कारोबार भएका थिए। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। परिसूचकमा गिरावट आउँदा यस साता शेयर बजारको आकार (बजार पुँजीकरण) करिब ३९ अर्ब रुपियाँले घटेको छ। यस साता बजार पुँजीकरण १६ खर्ब ८२ अर्ब ५ करोड रुपियाँबाट घटेर १६ खर्ब ४३ अर्ब १६ करोड रुपियाँमा पुगेको नेप्सेले जनाएको छ।

नेप्से परिसूचक घट्दा यस साता ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि पहिलो दिनको तुलनामा ५ दशमलव ३४ अंकले घटेर २ सय ९६ दशमलव ८६ अंकमा आइपुगेको छ।
यस साता कारोबारमा आएका १० वटै समूहमा गिरावट आउँदा समग्र बजार परिसूचक आरालोे लागेको हो। घट्नेमा सबैभन्दा धेरै बीमा समूह १ सय ८७ दशमलव शून्य ९ अंकले घट्यो। त्यस्तै बैंकिङ २८ दशमलव २६, होटल ३९ दशमलव शून्य ६, विकास बैंक ४३ दशमलव ८७, लघुवित्त ३९ दशमलव ९९,वित्त १६ दशमलव ६२, उत्पादनमूलक ५४ दशमलव २६,अकंले गिरावट आएको हो।

त्यसैगरी व्यापार, जलविद्युत्, र अन्य समूहका परिसूचक पनि क्रमशः २ दशलमव ८७, ५९ दशलमव ८८ र १६ दशलमव २४ अंकले ओरालो लागे।यस साता कारोबार रकम, शेयर संख्या कारोबार संख्या सबैको आधारमा सानिमा माई हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको कूल १९ करोड ८ लाख १० हजार रुपियाँ बराबरको शेयर कारोबार भएको थियो। गत साता कम्पनीका १ हजार १ सय ८४ वटा कारोबारबाट ४ लाख ४७ हजार कित्ता शेयर कारोवार भएका थिए।

कारोबार रकमका आधारमा ५ करोड ३९ लाख ९० हजार रुपियाँसहित नविल बैंक दोस्रो स्थानमा रह्यो। सर्वाधिक कारोबार हुने शीर्ष ५ कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयर पनि रहे।

यस साता नेप्सेमा २ वटा कम्पनीका ५५ लाख ८८ हजार ८५ कित्ता हकप्रद र बोनस शेयर सूचीकृत भएका छन। जसमा ओम डेभलपमेन्ट बैंकको ४९ लाख ३१ हजार ८३५ कित्ता हकप्रद शेयर र सूर्या लाइफ इन्स्योरेन्सको पनि ६ लाख ५६ हजार २ सय ५० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्