स्वच्छ ऊर्जामार्फत् गरिबी न्यूनीकरणमा जोड



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले मुलुकमा ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनका लागि विभिन्न योजना कार्यान्वयनमा ल्याउन लागेको बताउनुभएको छ।

शुक्रबार राजधानीमा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (युएनसीडीएफ) र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त रूपमा आयोजना गरेको ‘नेपालमा स्वच्छ ऊर्जाको भविष्यका लागि लघुवित्तको अवसर’ विषयक कार्यशालामा उपाध्यक्ष वाग्लेले नवीनतम् प्रविधिसहितका योजनाबाट ग्रामीण विद्युतीकरण सम्भव हुने बताउनु भएको हो। ऊर्जा क्ष्ँेत्रको विकासबाट मुलुकको आर्थिक अवस्था सुधार्न सकिने भन्दै वाग्लेले सन् २०३० सम्म सबै जनतामा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन लागेका बताउनुभयो। त्यसका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइरहेको र तीनको कार्यान्वयनमा विशेष जोड दिइने बताउनुभयो।

विगत केही दशकयता पूर्वाधार विकासमा सन्तोषजनक प्रगति हुँदै गए पनि ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति नदेखिएको वाग्लेको भनाइ छ। सोही कार्यक्रममा नेपालका लागि नर्वेका राजदूत लास्से जोहान्सेनले ऊर्जा क्षेत्रमा नेपालले गरेको प्रगति र सम्भावनाको विकासमा नर्वेली सरकारले पनि केही सहयोग गर्दै आएको स्मरण गराउनुभयो। उहाँले भन्नुभयो–‘ नर्वेले नेपालमा नवीकरणीय ऊर्जाका माध्यमबाट ऊर्जाको पहुँच विस्तार गर्न सहयोग गर्दै आएको छ। आगामी दिनमा पनि यसको निरन्तरता रहिरहने छ।’

त्यसैगरी जनसंंख्या तथा वातावरण मन्त्रालयका सचिव प्रकाश माथेमाले अहिले विकेन्द्रीकृत शासन प्रणालीमा नवीकरणीय ऊर्जामार्फत् गरिबी न्यूनीकरण, सुशासन र वित्तीय समावेशीकरणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो। दिगो विकास लक्ष्यसहित कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउँदै माथेमाले गरिब जनतासम्म ऊर्जा पहुँचको क्षेत्र विस्तार गर्दै लैजानुपर्ने बताउनुभयो। ऊर्जा क्ष्ँेत्रको विकासका लागि लघु कर्जालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ रहेको छ।

कार्यक्रममा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। बैंक तथा वित्तीय संस्थाहरूले नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्दा सामुदायिक सहकारीमार्फत् जानुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बैंक तथा वित्तीय संस्थाले थारै रकम लगानी गर्नका बैंक क्ष्ँेत्रले ग्रामीण क्षेत्रमा जोखिम मोल्न नचाहेको अवस्था छ।

२० वर्षअघि मुलुकमा शून्य दशमलव एक प्रतिशतमात्र नवीकरणीय ऊर्जा रहेकामा हाल ३ प्रतिशत उत्पादन भइरहेको छ। जसमार्फत् करिब १७ प्रतिशत उपभोक्ता लाभान्वित भएका छन। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले वार्षिक रूपमा बढ्दै गएको वैकल्पिक ऊर्जाको प्रयोगलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो। सौर्य ऊर्जालाई मात्र वैकल्पिक ऊर्जाको रूपमा बुझ्ने प्रवृत्ति रहेको भन्दै धितालले यसको दायरा फराकिलो हुनुपर्नेमा समेत जोड दिनुभयो।

नवीकरणीय ऊर्जामार्फत् कृषि क्षेत्रको उत्पादकत्व वृद्धिका विषयमा बोल्दै प्राक्टिकल एक्सनका अनुजध्वज जोशीले ग्रामीण कृषकका लागि सोलार, बायोग्यास, लघुविद्युत्लगायत सानो क्षमताका ऊर्जा स्रोतबाट पनि ठूलो लाभ लिन सकिने बताउनुभयो। ‘लघु ऊर्जाका स्रोतमार्फत् खोलामा बगेको पानी तानेर अग्लो ठाउँमा पनि सिँचाइ गर्न सकिन्छ। यस्ता विभिन्न आयामहरू छन्।

जसमार्फत् कृषि क्ष्ँेत्रमा नवीकरणीय ऊर्जाको प्रयोगमार्फत् उत्पादकत्व बढाउन सकिन्छ। जोशीले नवीकरणीय ऊर्जाका क्षेत्रमा नयाँ प्रविधिको विकासलाई पनि आत्मसाथ गरिनुपर्ने बताउनुभयो। केही पुराना प्रविधिभन्दा नयाँ प्रविधिलाई समयसापेक्ष बनाउनुपर्ने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्