बैंकिङ क्षेत्रमा तरलता क्रमशः हट्दै



रोविन पौडेल, काठमाडौं

पालको वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या कम हुँदै गएको छ। वित्तीय क्षेत्रको मुख्य समस्याको रूपमा रहेको तरलता संकट कम हुन थाले पनि लगानीयोग्य रकमको अभाव भने अझै रहेको जानकारहरूले बताएका छन्।

अहिले बजारमा २५ अर्ब रुपियाँ अधिक तरलता रहेको छ। तर, बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको भने अभाव भने देखिन्छ।

वित्तीय संस्थाले लगानीलाई प्राथमिकतामा राखेमात्र लगानीयोग्य रकम बढ्न सक्छ। पहिलो त्रैमासिक अवधिमा चुप लागेर बसेका बैंक तथा वित्तीय संस्था अल्पकालीन नाफा कमाउने लोभमा दोस्रो त्रैमासदेखि तुरुन्त फाइदा हुने क्षेत्रमा लगानी गर्न थालेका छन्। यही वर्ष नाफा उठाउने सोचमा उनीहरूले अटो, रियलस्टेट लगायत अनुत्पादक क्षेत्रमा आक्रामक लगानी गर्दा लगानीयोग्य रकमको अभाव देखिएको हो।

अहिले बैंकलाई कुनै समस्या छैन। कर्जा नपाउनु व्यवसायीको समस्या हो। बैंकहरू त वार्षिक नाफा कम हुन्छ भनेर आत्तिएका हुन्।

राजेन्द्र पण्डित
सहायक प्रवक्ता, नेपाल राष्ट्र बैंक


 

अहिले बजारमा तरलताको समस्या समाधान भएको छ। तर, लगानीयोग्य रकमको भने अझै अभाव छ।

अहिले कर्जा निक्षेप पुँजी अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत रहेको छ।

दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा भएको खर्च पनि विस्तारै बैंकिङ प्रणालीमा आउँदा बजारमा तरलता समस्या कम हुन थालेको हो।

पुस मसान्तसम्म अग्रिम करको रूपमा निजी क्षेत्रले कति रकम सरकारको ढुकुटीमा पठाए भन्ने जानकारी बाहिर आइसकेपछि मात्र बजारको अवस्थाबारे अझै बोल्न सकिन्छ।

लगानी कम हुँदै जाँदा निक्षेप संकलन बढ्दै गयो भने माघभित्र बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुनसक्छ।

 

 

ज्ञानेन्द्र ढुंगाना
अध्यक्ष, नेपाल बैंकर्स एसोसिएसन

राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि पर्याप्त रकम बजारमा पठाएको तथा चुनावमा खर्च भएको रकम विस्तारै वित्तीय प्रणालीमा प्रवेश हुने क्रम जारी रहँदा तरलताको संकट कम हुँदै गएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले यतिबेला बजारमा २५ अर्ब रुपियाँ अधिक तरलता रहेको जानकारी दिनुभयो। उहाँले भन्नुुभयो– ‘राष्ट्र बैंकले निरन्तर तरलता प्रवाह गरिरहेको अवस्थामा अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतमा सीमित भएको छ। तर, बैंक तथा वित्तीय क्षेत्रमा लगानीयोग्य रकमको भने अभाव भने देखिन्छ।’

राष्ट्र बैंकले लगानीयोग्य रकम बढाउने कुनै उपकरण नल्याउँदा बैंकहरू आफंै नै लगानीयोग्य रकम तुल्याउन असक्षम बनेका उहाँको दाबी छ। उहाँले भन्नुभयो– ‘नेपालमा दुईवटा कारण लगानीयोग्य रकम बढ्छन्। वित्तीय क्षेत्रको लगानीयोग्य रकम बढ्न विप्रेषण आप्रवाह बढ्ने वा सरकारको खर्च बढ्ने एक हुनुपर्छ।’

बैंकले पनि लगानीलाई प्राथमिकतामा राखेमात्र लगानीयोग्य रकम बढ्ने उहाँको दाबी छ। पहिलो त्रैमासिक अवधिमा चुप लागेर बसेका बैंक तथा वित्तीय संस्था अल्पकालीन नाफा कमाउने लोभमा दोस्रो त्रैमासदेखि तुरुन्त फाइदा हुने क्षेत्रमा लगानी गर्न थालेको उहाँको आरोप छ। उहाँले भन्नुभयो– ‘यही वर्ष नाफा उठाउने सोचमा उनीहरूले अटो, रियलस्टेट लगायत अनुत्पादक क्षेत्रमा आक्रामक लगानी गरे। यही कारण लगानीयोग्य रकमको अभाव देखिएको हो।’

उहाँले अर्थतन्त्रलाई चाहिने कर्जा प्राप्त हुन नसकेको तथा उद्योगधन्दा मारमा परेको अवस्थामा राष्ट्र बैंक नीतिगत व्यवस्थामा आवश्यक पुनरावलोकन गर्न तयार रहेको बताउनुभयो।
पण्डितले भन्नुभयो– ‘अहिले बैंकलाई कुनै समस्या छैन। आत्तिएका मात्र हुन्। कर्जा नपाउनु व्यवसायीको समस्या हो। बैंकहरू त वार्षिक नाफा कम हुन्छ भनेर आत्तिएका हुन्।’

यस्तै नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना पनि बजारमा तरलताको समस्या समाधान भएको बताउनुहुन्छ। अहिले बजारमा सीआरआर भन्दा ५० अर्ब रुपियाँ तरलता बजारमा उपलब्ध रहेको राष्ट्र बैंकले दाबी गरेको उहाँ जानकारी दिनुभयो।

ढुंगानाले भन्नुभयो– ‘तर बजारमा लगानीयोग्य रकमको भने अझै अभाव छ। कर्जा निक्षेप पुँजी अनुपात (सीसीडी रेसियो) ७९ प्रतिशत रहेको छ।’ लगानी कम हुँदै जाँदा निक्षेप संकलन बढ्दै गयो भने माघभित्र बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध हुने उहाँ विश्वास छ।

दुई चरणमा भएको प्रदेश तथा प्रतिनिधिसभा चुनावमा भएको खर्च पनि विस्तारै बैंकिङ प्रणालीमा आउँदा बजारमा तरलता समस्या कम हुन थालेको उहाँको बुझाइ छ। ढुंगानाले भन्नुभयो–‘निर्वाचनमा भएको खर्च गाउँ–गाउँमा छरिएर विस्तारै संकलन हुन थालेको छ। हामीले यति समय लाग्ला भन्ने सोचेका थिएनौं।’ यस्तै राष्ट्र बैंकले विकास ऋणपत्र धितोमा राखेर केही तरलता बजारमा पठाउँदा तरलता समस्या केही समाधान भए पनि त्यसले लगानीयोग्य रकम नबढाएको उहाँको दाबी छ।

उहाँले भन्नुभयो–‘पुस मसान्तसम्म अग्रिम करको रूपमा निजी क्षेत्रले कति रकम सरकारको ढुकुटीमा पठाए भन्ने जानकारी बाहिर आइसकेपछि मात्र बजारको अवस्थाबारे अझै बोल्न सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्