गाउँमै चिस्यान केन्द्र स्थापना भएपछि किसानलाई राहत



नेपाल समाचारपत्र
पर्वत
गाउँमा दूध भण्डारण गर्ने चिस्यान केन्द्र स्थापना भएपछि पशुपालक कृषकले राहात पाएका छन्। कच्ची सडक दैनिकजसो बन्द हुने समस्याले गर्दा सयौं लिटर दुधको नोक्सानी व्यहोर्दै आएका कृषकलाई गाउँमै चिस्यान केन्द्र खुलेपछि राहात मिलेको हो। विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका पर्वतको फलेवास नगरपालिका–७ लिमिठाना र कुर्घाका किसानले गाउँमै चिस्यान केन्द्र खुलेपछि राहात मिलेको बताएका छन्।

लामो समयको प्रयासपछि विभिन्न संस्थाको सहयोग र कृषकले आफैं लगानी गरेर चिस्यान केन्द्र स्थापना गरिएको छ। चिर्दिखोलामा स्थापना गरिएको चिस्यान केन्द्रले कुर्घा र लिमिठानाका झण्डै एक सय दूध उत्पादक कृषकलाई सहज भएको हो।

स्थानीय कृषक बुद्धिराम शर्माका अनुसार अब दूधको भाँडो बोकेर तीन घण्टा हिँड्दै कुस्मा बजार पुग्नुपर्ने बाध्यता कम भएको छ। दूध फाट्ला भन्ने चिन्ताबाट समेत कृषक मुक्त भएका छन्। घर नजिकै दुग्ध चिस्यान केन्द्र स्थापना भएपछि किसानले उत्पादन गरेको दूध खेर नजाने भन्दै शर्मा जस्तै धेरै पशुपालक किसान खुशी भएका हुन्।

दूध बिक्री बितरण गर्न निकै समस्या खेप्नु परेको र अब गाउँमै खुलेको दुग्ध चिस्यान केन्द्रमा जम्मा गरेर बिक्री गर्न सहज भएको कृषक देवी शर्माले बताउनुभयो। गाउँमै दुग्ध चिस्यान केन्द्र खुलेपछि आफूले उत्पादन गरेको दूध उज्यालो नहुँदै बोकेर कुश्मा बजारतिर कुद्न बाध्य किसानको समस्या हटेको उहाँले भन्नुभयो।

पशुपालक किसानलाई लक्षित गरेरे चार वर्षअघि किसानले खोलेको चिसापानी सहकारी संस्थाले चिस्यान केन्द्र स्थापना गरेको हो। गाउँमा चिस्यान केन्द्र नहुँदा दूध बिक्री गर्न किसानले सास्ती खेप्नुपरेकाले किसानकै हितका लागि चिस्यान केन्द्र खोलेको सहकारीका अध्यक्ष युवराज शर्माले बताउनुभयो। कुश्माबजारदेखि झण्डै ३० किलोमिटरको दुरीमा रहेको उक्त स्थानमा हिउँदयाममा यातायातको समस्या नभए पनि वर्षायाममा भने पटक–पटक सडक बन्द हुने समस्याले किसान हैरान भएका थिए।

उक्त क्षेत्रमा गाई र भैंसी पालेर दूध उत्पादन गर्ने १ सय घरधुरी किसान छन्। उनीहरूले उक्त दुग्ध चिस्यान केन्द्रमा दूध जम्मा गर्दै आएका छन्। एक जना किसानले दैनिक १५ देखि ४० लिटरसम्म दूध बिक्री गर्दै आएको सहकारीका सचिव शोभा क्षत्रीले बताउनुभयो।

किसानले हरेक दिन बिहान र बेलुकी ६ बजेदेखि ८ बजेसम्म चिस्यान केन्द्रमा दूध संकलन गर्ने गरेका छन्। किसानले दूधको प्रतिलिटर ३५ देखि ४८ रुपियाँसम्म पाउँदै आएका छन्। सहकारीमार्फत् संकलन गरिएको दूध सदरमुकाम कुश्माबजारमा डेरीमा बिक्री गरिँदै आएको छ। चिस्यान केन्द्र सञ्चालनका लागि ४० लाख रुपियाँ खर्च भएको क्षेत्रीले बताइउनुभयो।

त्यसमध्ये सांसद विकास कोषमार्फत ३ लाख, जिल्ला पशुसेवा कार्यालयले ६ लाख सहयोग गरेको र बाँकी ३१ लाख रुपियाँ भने किसानबाटै जम्मा भएको रकम लगानी गरेर सहकारीले चिस्यान केन्द्र स्थापना गरेको हो। यस चिस्यान केन्द्र बाट मासिक ५ लाखभन्दा बढीको दूध बिक्री वितरण हुँदै आएको अध्यक्ष शर्माले जानकारी
दिनुभयो।

प्रतिक्रिया दिनुहोस्