भक्तपुरलाई प्रदेश राजधानी माग्दै पुत्ला दहन



भक्तपुर, (नेस)
भक्तपुरको सानोठिमीलाई प्रदेश नं. ३ को राजधानी बनाउनुपर्ने माग गर्दै भक्तपुरमा प्रदर्शन गरिएको छ। भक्तपुर, सानोठिमी, पेप्सीकोला हुँदै काठमाडौं जाने सडकअन्तर्गत मध्यपुरथिमिको बाहाखा बजार चोकमा धर्ना दिएर प्रदर्शन गर्दै सरकारले हेटौंडालाई प्रदेश राजधानी तोकेकोमा विरोध गरिएको छ।

सडक बन्द गराएर दिउँसो ३ बजेदेखि दुई घण्टासम्म जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रतिनिधिसभा सदस्य महेश बस्नेत, प्रदेशसभा सदस्य शशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, नगरपालिकाका प्रमुखहरू, उपप्रमुखहरू, वडा अध्यक्षहरू र महिला, युवा एवम् स्थानीय बासिन्दाले धर्ना दिएर नाराबाजी गरेका थिए।

कार्यक्रममा बस्नेत, थापा, गेलाल, नगरपालिकाका प्रमुखलगायतले सरकारले हटौंडा तोकेको ३ नम्बर प्रदेशको राजधानीलाई सच्याएर भक्तपुर राजधानी बनाउने निर्णय नगरेसम्म आन्दोलन जारी राख्ने बताउनुभयो।

दुई घण्टाको धर्नापछि सहभागी युवाहरूले प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा र नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेको तस्वीरमा कालोमोसो दलेर नाराबाजी गरेका थिए। युवाहरूले सोही कार्यक्रममा उहाँहरूको पुत्लासमेत जलाएका थिए।

प्रतिक्रिया दिनुहोस्