घोडाघोडीका जेसीभी र दमकल प्रयोग विहीन



हेमन्त पौडेल, कैलाली

कैलालीको घोडाघोडी नगरपालिकाले लाखौैं मूल्यमा खरिद गरेका निर्माण उपकरणहरू प्रयोग विहीन अवस्थामा रहेका छन्। नगर क्षेत्रको विकासमा सहजता ल्याउन नगरपालिकालाई स्रोतसाधन सम्पन्न बनाउने भन्दै करिब आठ महिना पहिला खरिद गरिएका उपकरणहरू चालक नहुँदा प्रयोग विहीन भएका हुन्।

नगरपालिकाको कोषबाट लाखौंको रकम हालेर खरिद गरिएको दमकल र जेसीभी चालक नहुँदा अहिलेसम्म पनि प्रयोगमा आउन सकेका छैनन्। लाखौैं मूल्य हालेर नगरपालिकाले खरिद गएका उक्त उपकरणहरू महिनौंदेखि इलाका प्रहरी कार्यालय सुखडमा थन्काइएको छ।

नगर क्षेत्रमा हुन सक्ने अगलागीका घटना नियन्त्रण गर्ने भन्दै ४५ लाखमा खरिद गरिएको दमकल र ३३ लाख ७७ हजारमा खरी गरिएको जेसीभी चालक नहुँदा प्रहरी कार्यालयको प्रांगणमा थन्क्याइएको घोडाघोडी नगरपालिकाका एक कर्मचारीले बताए।

उपकरणहरू खरिद गरिए पनि शुरूमै राजनीतिक दहरूबीच विवाद भएपछि अहिलेसम्म पनि चालक राख्न नसकिएको बताइएको छ। विभिन्न राजनीतिक दलका नेताहरूले आफ्ना नजिकका व्यक्तिलाई चालक राख्न दबाब दिएपछि यस्तो समस्या आएको हो। आफ्नो नजिकको मान्छे नभए कसैलाई राख्न नहुने भन्दै विवाद गर्दा अहिलेसम्म पनि चालक राख्न सकिएको छैन।

प्रयोगमै नआएको नगरपालिकाको जेसीभी खिया लागेर काम नलाग्ने अवस्थामा पुगेको नगरपालिकाका एक कर्मचारीले बताए। ती कर्मचारीले भने– ‘केही दिन बाहिरका चालकले नगरपालिकालाई भाडा दिने भन्दै चलाउन लगे। आउँदा बिग्रेको आवस्थामा आयो। अहिले मर्मत गर्दा करिब ८० हजारभन्दा बढी रकम लाग्ने देखिएको छ।’ नगरपालिकाले लाखौंको रकम हालेर जेसीभी र दमकल किनेको भए पनि उक्त उपकरणहरूबाट नगरबासीले सेवा सुविधा नपाएकोे घोडाघोडी नगरपालिका १० का सन्तोष भण्डारीले बताउनुभयो।

‘नगरका थुप्रै स्थानमा अहिले पनि सडकको अवस्था निकै नाजुक रहेको छ, भएका मेसिन उपकरणहरू प्रयोग गरेरै भए पनि काम गरेको भए नगरबासीहरूलाई केही राहत हुन्थ्यो होला।’ –उहाँले भन्नुभयो। जनप्रतिनिधिहरू आएको आठ महिना बित्न लाग्दा समेत नगरबासीलाई राहतको अनुभूति हुने गरी कुनै काम नभएको नगरबासीको भनाइ छ। विगतमा जनप्रतिनिधि नभएको कारण कर्मचारीबाट काम नभएको भनिँदै आएकोमा अहिले पनि विगतको काम गर्ने तरिकामा कुनै परिर्वतन नआएको उनीहरूको गुनासो छ।

नगरपालिकाले लाखौं रुपियाँमा खरिद गरेका उपकरणहरू थन्क्याउँदा प्रयोगमै नआएर खिया लागेर बिग्रन सक्ने अवस्था रहेको स्थानीयहरूले बताएका छन्।

नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीहरू नगरको सम्पत्ति र नगरबासीको सेवा सुविधाप्रति जिम्मावार नरहेको उनीहरूले आरोप लगाएका छन्। घोडाघोडी नगरपालिका क्षेत्रमा रहेको राजनीतिक दलका प्रतिनिधिहरूसमेत नगरबासीका समस्याप्रति जिम्मेवार नरहेको स्थानीय कृष्ण चौधरीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘यहाँका राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू नगरपालिका तथा नगरबासीको हितका लागि कहिल्यै एक जुट हँदैनन्।’

‘उनीहरू पार्टीगत तथा आफ्नो व्याक्तिगत हित हुने निर्णय गर्नुपर्ने भए जस्तोसुकै निर्णय गर्न पनि सहमत हुन्छन्।’ –घोडाघोडी नगरपालिका–१ का अध्यक्ष मनराज शाहीले दक्ष व्यक्ति नपाएकाले चालक राख्न नसकिएको बताउनुभएको छ। सामान्य रूपमा डोजर र दम्कल चालाउन सिकेका व्यक्तिहरू पाइए पनि सवारी चालक अनुमतिपत्र प्राप्त गरेका व्यक्ति नपाइएकाले चालक राख्न नसकिएको उहाँले बताउनुभयो। घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई यो विषयमा बुझ्न खोज्दा उहाँले फोन उठाउनुभएन।

प्रतिक्रिया दिनुहोस्