कांग्रेस बैठक सम्पन्न: हारको समीक्षा पछि गरिने



नेपाल समाचारपत्र
काठमाडौं

दुई दिनदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारीमा लाग्ने निर्णय गर्नुका साथै हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न प्रत्येक जिल्लाबाट एक महिनाभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।

राष्ट्रियसभा निर्वाचन प्रमुख एजेन्डा भए पनि बैठकमा केन्द्रीय सदस्यहरूले निर्वाचन समीक्षालाई प्रमुखताका साथ उठाएका थिए। नेतृत्वको कमजोरीको कारण पार्टी कमजोर भएको भन्दै केन्द्रीय सदस्यहरूले सभापति देउवाको चर्को आलोचनासमेत गरेका थिए। नेतृत्वकै कारण पार्टीको सम्पूर्ण संगठनात्मक संरचना कमजोर भएको तथा पार्टी विधि र विधानबाट भन्दा पनि नेतृत्वको आदेशबाट सञ्चालन भएको बारेमा पनि केन्द्रीय सदस्यहरूले बैठकमा छलफल गरेका थिए।

बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएको सुझावलाई ध्यानमा राखेर पार्टीमा महत्वपूर्ण योगदान पुर्याउने नेताहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यही माघ २४ गतेका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी, मनोनयन दर्ता यही माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र चुनावको तयारीमा केन्द्रित हुनुपर्ने भन्दै कांग्रेस बैठकले पछि केन्द्रीय कार्यसमितिको फेरि अर्को बैठक बोलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भएको हारको बारेमा लामो छलफल र बहस गरिने जनाएको छ।

केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार बैठकले एक महिनाभित्र प्रत्येक जिल्लाबाट हालै सम्पन्न निर्वाचनको समीक्षात्मक प्रतिवेदन माग गरिएको छ। जिल्लाबाट समीक्षासहितको प्रतिवेदन आएपछि केन्द्रीय समिति बैठक बस्ने उहाँले बताउनुभएको छ। जिल्लाको प्रतिवेदन हेरेर केन्द्रीय समिति बैठकमा निर्वाचनमा भएको हारको विस्तृत समीक्षा हुनेछ। कांग्रेस केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ– ‘आगामी केन्द्रीय समितिको निर्वाचन समीक्षा बैठकमा प्रस्तुत गर्न पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित प्रदेशसभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फका पार्टीका उम्मेदवारले एक महिनाभित्र लिखित प्रतिवेदन पेस गर्न निर्देश गर्ने।’

बैठकले राज्यको नयाँ संरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले नीतिगत र वैधानिक दिशानिर्देश गर्ने जनाएको छ। मुलुकको संविधानअनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन गर्नुपर्ने भन्दै पार्टीका सबै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवम् शुभेच्छुक संघ–संस्थाहरूलाई थप सुदृढ, गतिशील र सशक्त बनाउनका लागि नयाँ योजना र कार्यक्रमहरूका साथ अघि बढ्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको छ।

कांग्रेस बैठकले दशकौंसम्मको अथक संघर्ष, यात्राका आरोह–अवरोह र चुनौती पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको यो निर्वाचनले दिएको छ। यी निर्वाचनहरूले नेपालको नयाँ संविधानलाई पूर्णरूपमा कार्यान्वयन गर्ने बाटोमा लगेको भन्दै बैठकले समावेशी लोकतन्त्र, सम्प्रभु जनताको गणतन्त्र एवम् समता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवाद र समृद्ध नेपाल निर्माणको बलियो आधारशिला खडा गर्ने काम निर्वाचनले गरेको निष्कर्ष निकालेको छ। संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवम् मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवम् समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोसेढुंगा सावित भएको कांग्रेस बैठकले ठहर गरेको छ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली कांग्रेसकै नेतृत्वमा पूरा भएको बताउनुभएको थियो। संविधान निर्माणपछि अन्ततः तराई–मधेसमा उत्पन्न समस्यालाई समाधान गरी, निर्वाचनको प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेस नेतृत्वको सरकार र सिंगो कांग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ भन्दै सभापति देउवाले भन्नुभयो– ‘लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि प्रधानमन्त्री एवम् पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र साथीहरूमा बधाई ज्ञापन गर्न चाहन्छु।’

प्रतिक्रिया दिनुहोस्