प्रहरीको गाडीले घाइतेलाई अस्पताल लैजान नमान्दा किशोरको मृत्यु



लखनउ, (एजेन्सी)

भारतको उत्तर प्रदेशमा १ सडक दुर्घटनामा परेका २ नाबालकलाई प्रहरीले आफ्नो गाडीबाट अस्पताल नपुर्याउँदा उनीहरुले सडकमै ज्यान गुमाए। दुर्घटनामा परेका ती २ केटा रक्ताम्मे भएकाले उनीहरुको गाडी फोहर हुने डरले अस्पताल नलगिएको प्रहरीले बताएका थिए।

उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। यस घटनालाई लिएर ३ जना प्रहरीलाई निलम्बित गरिएको छ। घटनास्थलमा मान्छेहरुले कयौं अनुनयविनय गर्दा पनि प्रहरीको मन नपग्लेको र उनीहरुले अर्को गाडीको व्यवस्था गरी अस्पताल लगेका थिए। तर डाक्टरले ती युवकहरुलाई मृत घोषित गरे।

उक्त घटनाको सम्पूर्ण गतिविधिको एक भिडियो त्यहाँका स्थानीयले बनाएका थिए। शुक्रबार त्यसलाई सामाजिक सञ्जालमा राखेपछि भाइरल भयो। ३ मिनेट १८ सेकेन्डको उक्त भिडियोमा उत्तर प्रदेश प्रहरीको व्यवहार लज्जास्पद भएको प्रतिक्रिया आइरहेको छ।

भिडियो सार्वजनिक भएपछि प्रहरीको कडा आलोचना भएको छ। नागरिकहरुले तिखो प्रतिक्रिया दिएका छन्। त्यसपछि सिटी प्रबल प्रताप सिंहले डायल १०० मा तैनाथ तीनैजना प्रहरी हेड कन्स्टेबल इन्द्रपाल सिंह, कन्स्टेबल पंकज कुमार र कन्स्टेबल चालक मनोज कुमारलाई निलम्बन गरेको छ।

सहानपुर जिलामा भएको उक्त घटनामा १७ वर्षका किशोर अर्पित खुराना र सन्नी बिहीबार राति मोटरसाइकलबाट आफ्नो घर गइरहको बेला बेरी बाग इलाकामा अनियन्त्रित भई खम्बामा ठोक्किएर दुर्घटना भएको थियो। खम्बामा ठाक्किँदा ठुलो आवाज आएको र दुबैजना नालीमा खसेका थिए।

वरपरबाट जम्मा भएका स्थानीयले उनीहरुलाई नालीबाट निकाले। दुबै गम्भिर घाइते अवस्थामा थिए। भिडले प्रहरी कन्ट्रोल रुमलाई सूचना दिए। प्रहरी समयमै पुगे। डायल १०० का प्रहरीसँग त्यहाँ उपस्थित भिडले ती दुई केटालाई अस्पताल लगिदिन भनिरहेको भिडियो प्रस्ट देखिएको छ। तर प्रहरीले त्यसलाई अस्वीकार गरिरहे।

भिडमा एक युवकले रुँदै प्रहरीलाई मद्दतका लागि अनुनयविनय गरेका थिए। घाइते सडकमा छटपटिरहेको देखिन्थ्यो। एक युवकले आफू सञ्चार माध्यमसँग आबद्ध रहेको बताउँदै मद्दत पनि मागेका थिए, प्रहरीले सरकारी गाडीबाट अस्पताल लग्न अस्वीकार गरे।

एक युवक घाइते केटालाई उठाउँदै प्रहरी बसेको गाडीको ढोका खोल्न आग्रह पनि गरिहेका थिए। त्यसमा प्रहरीको तर्फबाट गाडी फोहर हुने, घाइतेलाई गाडीमा राखेमा रातभरि फोहर गाडीमा कसरी बस्ने भन्ने जवाफ आइरहेको थियो। प्रहरीले उनीहरुलाई कुनै टेम्पोबाट लग्न भनिरहेका थिए। प्रहरी प्रमुखले घटनाको जाँच आदेश दिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्