“शिक्षाले अम्मली बनायो”



कमल ढकाल

मान्छेले चाहेको चिज गर्न सक्छ। के चाहने भन्ने कुरा व्यक्तिअनुसार फरक पर्छ। चरा देखेर उड्न मन लाग्यो मान्छेले तुरुन्त हवाइजहाज बनायो। माछाजस्तै पौडन मन लाग्यो सलल बग्न डुंगा बनाइहाल्यो। डाक्टर बन्न मन लागे डाक्टर। इन्जिनियर बन्न मन लागे इन्जिनियर। जे बन्न खोज्यो उही बन्न सक्ने। जे बनाउन खोज्यो उही बनाउन सक्ने। कस्तो अद्भूत प्राणी छ मान्छे।

आम मान्छे भने यो कुरा मान्दैनन्। कहाँ मान्छेले चाहेर हुन्छ? भाग्य र भगवान्ले गर्छ भन्दै पन्छिन्छन्। उनीहरूले यो बुझ्दैनन् कि घरमा बसिबसी कोही मान्छे संसारमै भाग्यमानी हुँदैनन्। अल्छी कहीं ठूलो भएको छैन। कर्मठ मान्छेहरू नै नामी भएका छन्। के त्यो भाग्यले हो र? कामले नै हो। चाहेको चिज प्राप्त गर्न पसिना र समय लगानी गर्नुपर्छ। समय लाग्छ। आजको भोलि केही चर्चित हुन सक्दैन।

यही कुरा बुझेर व्यवहारमा उतारेकी गीता राणा अहिले आफूले चाहेको कुरा गरिरहेकी छिन्। धेरैले शिक्षक र माझि उस्तै हो। अरूलाई तार्दछ आफू किनार र चक डस्टरमै हुन्छ भन्छन्। गीतालाई यही शिक्षक औधि मन पयो। मन पर्नु भनेकै प्रेम हुनु न हो। प्रेममा ‘गधी से दिल लगि तो परी क्या चिज है’ भने जस्तै जसले जे भने पनि उनले शिक्षण पेसालाई प्यार गरिन्। निःस्वार्थ प्रेमले खोजेको कुरा प्राप्त गर्छ। उनले पनि प्राप्त गरिन् शिक्षण पेसा र यसैबाट धेरै कुरा। यो शहरमा बोल्ड नेम। पैसा हुनेको पंक्तिमा लामबद्ध। (जस्तो कि लखपति हुँदै करोडपति)। नाम र पैसा भएपछि अर्काे एक चिजमा मान्छेलाई नशा लाग्छ। त्यो सम्मान पनि पाएकी छन्। हो शिक्षाको क्षेत्रमा जहाँतहीं सम्मान।

विद्वान सर्वत्र पूज्ययते। अर्थात् विद्वानलाई सबैतिर पुज्छन्। नपढी कोही विद्वान हुन सक्दैन। विद्याले नै हो मान्छे कस्तो बन्ने भन्ने। शिक्षाले संस्कारको विकास गर्दछ। संस्कारले मान्छेलाई जीवित राख्दछ। यही बुझेर गीताले सीपमुलक ज्ञानको रूपमा ग्यालेक्सीलाई विकसित गरिन्। जुन कुरो २०४२ , ४३ को राजधानी खाल्डोलाई बिलकुल नयाँ थियो। नयाँमा शुरूमा मान्छे जान खोज्दैन। विस्तारै मान्छेलाई पुराना कुरामा वितृष्णा हुन्छ र ऊ नयाँमै जान बाध्य हुन्छ। हो ग्यालेक्सीमा पनि यही भयो। ६ जनाबाट शुरू भएको ग्यालेक्सीले एक दशकमै चितुवा गतिमा उफ्रियो। २०५३÷५४ मा आइपुग्दा ग्यालेक्सीमा ३ हजार २ सय विद्यार्थी पुगे।

मान्छेले शुरू मात्र गर्नुपर्छ आफ्नो इतिहास आफैं बनाउँछ। २०३२ सालमा आदर्श विद्या मन्दिरबाट पढाउन शुरू गरेकी गीता दुई वर्ष त्यहाँ काम गरेर सेन्ट मेरिज पुगिन्। त्यसको ६ वर्षपछि उनी २०४० मा मोर्डन इन्डियन पुगिन्। जहाँ पनि शिक्षक हड्तालका कारण उनले स्कुल छाडेकी रहिछन्। त्यसैले उनले २०४१ सालमा आफैंले कोचिङ शुरू गरिन्। कोचिङ शुरू गर्दा–गर्दै आफैंले स्कुल किन नखोल्ने? भन्ने लाग्यो त्यसैले ४२ र ४३ मा ग्यालेक्सी स्कुलमा आइपुगिन्।

ग्यालेक्सीमा कुराकानी गर्न पुग्दा गीता राणा बद्लिएको मौसमका कारण रुघाले ग्रस्त थिइन्। काम नगरी बस्नै नसक्ने बानीका कारण ग्यालेक्सी आएकी रहिछन्। भन्दैथिइन्– ‘काम गरेन भने निद्रा नै लाग्दैन।’
पाँच जना स्टाफबाट ग्यालेक्सीमा आज ३ सय जना स्टाफ पुगेका छन्। स्कुलसँगै उच्च मावि पनि ५२/५३ देखि खोलियो। प्रगतिले समयसँगै गुड लगाउँदैै छ। राज्यको नीतिनिर्माणमा काम गर्न उनी सासंद पनि भइन्।

शिक्षामा खेलकुद पनि पर्दछ। यही बुझेर उनले ग्यालेक्सीमा खेलकुद शुरू गरेकी थिइन्, त्यही काम पनि उनलाई खेलकुद क्षेत्रमा प्लस प्वाइन्ट भइदियो। त्यसैले त सरकारले महिला फुटबललाई अगाडि बढाउन उनलाई राष्ट्रिय खेलकुद परिषद्बाट मनोनित गरेको थियो। अहिले पनि राष्ट्रियस्तरको खेलकुदमा उनको नाम उल्लेखनीय बनेको छ।

नाम र दामले मात्र मान्छे सफल र खुसी हुन नसक्नेरहेछ। उमेरअनुसार सफलता र खुसी फरक हँदै जाँदोरहेछ। हिजो सानो सफलताले उनलाई मनभरि खुसी दिन्थ्यो। आज उनले २५ हजारबाट शुरू गरेको स्कुल पैसाको हिसाबले हेर्ने हो भने ७०–८० करोड पुगेको छ। गीता भने यीभन्दा पनि समाजलाई के दिएँ त? भन्नेमा आफैंलाई छाम्दैछिन्।

ग्यालेक्सीमा मात्र पढाएर मान्छे शिक्षित हँदैन। गाउँ–गाउँका विद्यालयमा सहयोग गर्न सके पो हुन्छ। यही बुझेकी गीताले पनौतीमा सरकारी विद्यालयमा वर्षैपिच्छे आर्थिक सहयोग गर्दै आएकी छन्। विजय मेमोरियल डिल्लीबजारमा सय जना अनि बारा, पर्सा र रौतहट कालीकोटमा जिल्लापिच्छे सय जना पढाएकी छन्। आफ्नै स्कुल ग्यालेक्सीमा ३ सय ३३ लाई फ्रि पढाएकी छन्। अहिले उनले बुझेकी रहिछन् साच्चै अर्काको खुसीमा पो मान्छे खुसी हुनेरहेछ।

उनीसँगै उनको परिवार नै शिक्षाको अम्मली बनिसक्यो। एक बहिनी स्वयम्भू स्कुल अर्की बहिनीले प्यारागन, उनकी ठूली दिदी पद्म कन्यामा पढाउँछिन्। उनी पछिकी सानो बहिनी पाटन क्याम्पसमा फिजिक्स पढाउँछिन्। पाँचै दिदीबहीनी सबै शिक्षामा लागेका छन्। तीन दाजुभाईमा एक इन्डियामा छन् भने अरू स्कुल सम्बन्धित काम गर्छन्। पाँच छोरी र एक छोरामा उनको छोरा पनि यही काम गर्दै र एक छोरी पनि। साच्चै शिक्षाको काम नगरी उनको परिवारलाई नै मज्जा नआउने भइसक्यो।

बिहान साढे ४ बजे उठेदेखि राति १०÷११ बजेसम्म उनको काम भनेकै शिक्षक ,शैक्षिक संघसंस्थामा बित्छ। ग्यालेक्सी स्कुल, कलेज हुँदै एन प्याब्सन गर्दा उनको त्यत्तिकै रात पर्छ। ३५ वर्षदेखिको अनवरत पसिना, टेन्सन, खुसीजस्ता कुराले त उनी आज देशको प्रतिष्ठित बनेकी छन्। एउटा अम्मलीले आफ्नो अम्मल खान जे पनि गर्छ। जसले जे भने पनि छाड्न सक्दैन। उनी पनि त्यस्तै भइसकिन्।

३५ वर्षअगाडिदेखि लागेको यो अम्मल सायद जिन्दगीभर छुट्ने पनि छैन। खराब कुराको अम्मली गुमनाम हुन्छ। गीता शिक्षाजस्तो राम्रो कामको अम्मलका कारण नाम, दाम र सम्मानको कमाउँदै छिन्। दिन प्रतिदिन।

प्रतिक्रिया दिनुहोस्