७ केजी कोकिनसहित चार विदेशी पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
झन्डै ७ केजी लागूऔषध कोकिनसहित चार विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरोले साउनदेखि माघसम्म बोलेभियन नागरिक फ्रेडी ममनी एन्डिया, थाई महिला खुइनजाई खनरत, बोलेभियनद्वय रोजी गिड्डी टोलेडो भालेजोस र अदमर एनेज लोपेजलाई ६ केजी ९ सय ९२ दशमलव ५ ग्राम कोकिनसहित पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार फ्रेडी ममनी एन्डिया, थाई महिला खुइनजाई खनरतलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित काठमाडौंको एक होटलबाट पक्राउ गरेको हो। दुवै जना बोलेभियाबाट ब्राजिल, अफ्रिकी मुलुक इथोपियाबाट भारत हुँदै नेपाल आएका थिए। उनीहरूलाई एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा काठमाडौं ठमेलस्थित एक होटलबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।
बरामद गरिएको लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारत भई नेपाललाई ट्रान्जिट बनाएर बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानवाट खुल्न आएको छ। पक्राउ परेका दुवै विदेशी नागरिक अन्तर्राष्ट्रिय लागूऔषध कारोबारमा संलग्न रहेको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
यस्तै, गत साउन २६ गते प्रहरीले बोलेभियन महिला नागरिक रोजी गिड्डी टोलेडो भालेजोसलाई ३ किलो ५४ दशमलव ५ ग्राम लागूऔषध कोकिनसहित पक्राउ गरेको छ। यस्तै, गत असोज ७ गते बोलेभियन नागरिक अदमर एनेज लोपेजलाई २ किलो ७ सय ग्राम कोकिनसहित ब्युरोले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्