प्रदेश प्रमुखलाई शपथ



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरूलाई शपथ गराउनुभएको छ। सरकारले बुधबार प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुख नियुक्त गरेको थियो। शुक्रबार अपराह्न चार बजे राष्ट्रपति भवन शीतल निवासमा भण्डारीले प्रदेश प्रमुखहरूलाई शपथ ग्रहण गराउनुभएको हो।
प्रदेश–१ का प्रदेश प्रमुख गोविन्द सुब्बा, प्रदेश–२ का रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ का अनुराधा कोइरालाले शपथ लिनुभयो। त्यसै गरी प्रदेश–४ का बाबुराम कुँवर, प्रदेश–५ का उमाकान्त झा, प्रदेश–६ का दुर्गाकेशर खनाल र प्रदेश–७ का मोहनराज मल्लले शपथ लिनुभएको थियो। प्रदेश प्रमुखहरूले सम्बन्धित प्रदेशको कार्यालयमा गएर पदभार सम्हाल्नुहुनेछ। त्यसपछि प्रदेशसभा सदस्यहरूलाई शपथ गराउनु पर्नेछ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली पनि उपस्थित हुनुहुन्थ्यो।नेपालको इतिहासमा पहिलो पटक प्रदेश प्रमुख बनेका उनीहरूलाई राष्ट्रपति कार्यालयको प्रभास हलमा शपथ गराइएको थियो। सो हल राष्ट्रपति भवनको सबैभन्दा महवपूर्ण हल मानिन्छ।

प्रतिक्रिया दिनुहोस्