कांग्रेस जिल्ला सभापतिको राष्ट्रिय भेला हुँदै



रामकृष्ण चापागाईं, काठमाडौं
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला हुने भएको छ। प्रदेश नम्बर ३ का जिल्ला सभापतिको शुक्रबार सम्पन्न बैठकले एक महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेका हुन्।

भेलाले पार्टी विधान संशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मूल्यांकन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी ठोस प्रस्ताव तयार पार्ने र उक्त प्रस्ताव केन्द्रीय समिति र महासमिति बैठकमा लैजाने बताइएको छ।

प्रदेश नम्बर ३ मा पर्ने १३ वटा जिल्लामध्ये १० जिल्ला काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, भक्तपुर, काठमाडौं, मकानपुर, सिन्धुली, रामेछाप र दोलखाका सभापतिको भक्तपुरमा बसेको बैठकले एक महिनाभित्र राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको हो। काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार जिल्ला सभापतिको भेलाले पार्टीको वैचारिक, सैद्धान्तिक विषयलाई समय सान्दर्भिक पुनरव्याख्यासहितको दस्तावेज तयार बनाउनेछ।
३ नम्बर प्रदेशका जिल्ला सभापतिको बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ अवसर नपाएका जिल्ला सभापतिमध्येबाट सबै प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा टिकट उपलब्ध गराउन माग गरेका छन्। काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यका अनुसार यससम्बन्धी थप विस्तृत छलफलका लागि भोलि आइतबार र पर्सि सोमबार खोटाङको हलेसीमा ७५ जिल्लाका सभापतिको तयारी बैठक आयोजना गरिएको छ।
राष्ट्रियसभा निर्वाचनको तयारीका लागि भोलि आइतबार र पर्सि सोमबार खोटाङको हलेसीमा ७५ जिल्लाका सभापतिको बैठक आयोजना गरिएको छ।
प्रदेश ३ का जिल्ला सभापतिको बैठकले पार्टी विधान संशोधनका लागि तयारी समिति गठन गरी क्रियाशील रहने निर्णय पनि गरेको छ। बैठकले भूकम्पपीडित तथा बाढीपहिरो पीडित जनताको समस्या तत्काल समाधानका लागि आवश्यक निर्णय लिन वर्तमान कांग्रेस नेतृत्वको सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
भक्तपुरको एक होटलमा शुक्रबार सम्पन्न प्रदेश तीनका जिल्ला सभापति  काभ्रेका मधुप्रसाद आचार्य, सिन्धुपाल्चोकका विकास लामा, रसुवाका पेम्बाछिरिङ तामाङ, नुवाकोटका जगदीश नरसिंह केसी, भक्तपुरका दुर्लभ थापा, मकवानपुरका इन्द्रबहादुर बानियाँ, काठमाडौंका सबुद बानियाँ, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, रामेछापका लवश्री न्यौपाने र दोलखाका रुद्रबहादुर खड्काको सहभागिता रहेको थियो। कार्य व्यस्तताका कारण तीन जिल्लाका जिल्ला सभापति उपस्थित हुन सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्