ओली–प्रचण्डबीच अझै कुरा मिलेन, पद बाँडफाँडमा सकस



मधुसूदन रायमाझी, काठमाडौं
पार्टी एकताको गृहकार्यमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। पद बाँडफाँडमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच नै कुरा मिल्न नसक्दा एकता प्रक्रियाले गति लिन नसकेको हो।
निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका एमाले र माओवादी केन्द्रबीच एकपटक मात्र एकता संयोजक समितिको बैठक बसे पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन। पार्टी एकता प्रक्रिया अगाडि बढाउन एमाले अध्यक्ष ओली निवासमा शुक्रबार भएको तीन घण्टाको छलफलमा पनि ओली र प्रचण्डबीच कुनै सहमति जुट्न सकेन। ‘वान टु वान’ छलफलमा पद बाँडफाँडकै विषयमा केन्द्रित भएर छलफल भए पनि सहमति जुट्न नसकेको बताइएको छ।
छलफलमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनको विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले  बताउनुभयो। उहाँका अनुसार पार्टी एकता प्रक्रियालाई अगाडि बढाउन दुई अध्यक्षबीच सबै विषयमा खुलेर कुराकानी भएको छ। दुई नेताबीच भोलि आइतबार थप गृहकार्य गरेर पर्सि सोमबार एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता टुंग्याउने निर्णय भएको छ। थाइल्यान्ड जानुअघि ओली र प्रचण्डबीच गत पुस २६ गते ओली निवास बालकोटमा भएको भेटवार्तापछि पुनः शुक्रबार भेट भएको हो।
पुस २५ गते बसेको एकता संयोजक समितिको बैठकले राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाउन संयुक्त कार्यदल गठन भएको थियो।
कार्यदलले राष्ट्रियसभा सदस्य बाँडफाँड र प्रदेशको मुख्यमन्त्री सभामुखलगायतको पद बाँडफाँडमा सहमति जुटाएर संयोजक समितिमा पेस गर्ने तयारी गरेको छ।
एकता प्रक्रियालाई अगाडि बढाउन शनिबार दुवै पार्टीका बीचमा आन्तरिक छलफल गरेर आइतबार एकता संयोजक समितिको बैठक बस्ने सहमति भएको छ।
नेकपा एमालेका अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले कार्यदलले राष्ट्रियसभा गठनका विषयमा दिएको प्रतिवेदनमा छलफल हुनुका साथै आवश्यक परेमा सामान्य हेरफेर गरेर अन्तिम रूप दिने निर्णय भएको जानकारी दिनुभयो। ‘प्रदेश सरकार गठनका विषयमा पनि दुई अध्यक्षबीच छलफल भएको छ’, उहाँले भन्नुभयो– ‘पार्टी एकताका विषयमा छलफल भएको छ।’

प्रतिक्रिया दिनुहोस्