झडपमा ४० घाइते



 

डोटी। ७ नं प्रदेशको राजधानी दिपायलमा माग गर्दै यहाँ भइरहेको आन्दोलनमा दिनहुँ तनाव सिर्जना भइरहेको छ ।

जिल्ला सदरमुकाम सिलगढीमा आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३६ भन्दा बढी प्रदर्शनकारी तथा चार प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसूदन लुइँटेलले जानकारी दिनुभयो । घाइते हुनेमा नेकपा (एमाले)का जिल्ला अध्यक्ष चक्र मल्ल, दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, नेपाली काँग्रेसका नेता सुशील घर्ती, स्थानीय आन्दोलनकारी सूर्य केसीलगायत छन् । तीमध्ये केसीको अवस्था गम्भीर छ ।

जिल्ला प्रशासन कार्यालयअघि भइरहेको कोणसभाका क्रममा आक्रोशित युवाले कार्यालय र प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीमाथि २० भन्दा बढी सेल अश्रुग्यास प्रहार गरेको थियो । सोही क्रममा प्रहरीले लठ्ठी प्रहार गरेकामा प्रदर्शनकारीले प्रतिकार गर्दा झडप भएको थियो । झडपका क्रममा प्रहरीले ठूलो दमन गरेको आन्दोलनकारीले आरोप लगाएका छन् ।

पत्रकारमाथि दमन

झडपका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि पनि प्रहरीले दमन गरेको छ । पत्रकार बसेको ठाउँमा अश्रुग्यास प्रहार गर्नाका साथै पत्रकारमाथि लाठी चार्जसमेत भएको थियो । सोही क्रममा नेपाल पत्रकार महासंघ डोटीका सचिव गणेश मौनी, पत्रकार खगेन्द्र सिंह, रोजेन्द्र जोशी, रामहरि ओझा र चक्रबहादुर कठायत र प्रेस चौतारी नेपाल डोटीका अध्यक्ष झलक पाली घाइते हुनुभएको छ ।

आन्दोलनकारीले क्षेत्रीय प्रशासनलगायत क्षेत्रीय कार्यालयलाई हातेसाङ्लो बनाएर घेराबन्दी गर्दै सरकारको विपक्षमा नाराबाजी गरेका थिए । यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीतबहादुर खड्काको नेतृत्वको आन्दोलनकारीको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमुखका कार्यकक्षमा तालाबन्दी गरेको थियो ।

सात नं प्रदेशका तराई र पहाडी जिल्लाको यातायात सेवा आजदेखि पूर्ण रुपमा बिच्छेद पारिएको छ । भीमदत्त राजमार्गअन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरिएपछि सुदूरपश्चिमका सात वटै जिल्लाको तराईका जिल्लासँगको यातायात बिच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस्