सडकको विवादले धनगढी बन्द



कैलाली । निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै शुक्रबार धनगढी बन्द गरिएको छ । युवा दबाब समूहको अगुवाइमा भएको बन्दका कारण व्यापार व्यवसाय शिक्षण संस्था, कलकारखाना ठप्प भएका छन् ।

बन्दका क्रममा प्रदर्शनमा उत्रिएका धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष बलबहादुर ऐरलगायत आठजनालाई केही समय प्रहरीले नियन्त्रणमा लिएर छोडेको छ ।। सडक क्षेत्रभित्र बनाइएका घरलगायतका संरचना भत्काउने विषयमा उत्पन्न विवादपछि धनगढीको ट्राफिक चौराहादेखि बोराडाँडीसम्मको ‘छ लेन’ सडक निर्माण कार्य रोकिएको थियो ।

सडक ऐन, २०३१ ले सडकको चौडाइ (सीमा) ८२ फिट तोके पनि तत्कालीन धनगढी नगरपालिकाले ७५ फिटमा घरको नक्सा पास गरिदिएकाले समस्या सिर्जना भएको जनाइएको छ । विवादका बीच तत्कालीन धनगढी नगरपालिकाबाट नक्सा पास गरेर बनाइएका संरचना मुआब्जाबिना हटाउन नपाइने मागसहित ट्राफिक चौराहाका घना जोशीलगायत १३ घरधनीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको अन्तरिम आदेश पछि सो क्षेत्रको सडक निर्माणको काम केही दिनदेखि रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्