दैलेखमा औद्योगिक ग्राम स्थापना हुने



हिक्मत नेपाली , दैलेख

ठूलो औद्योगिक क्षेत्र स्थापना नभएको दैलेखमा औद्योगिक ग्राम स्थापनाको लागि तयारी थालिएको छ। जिल्लामा साना उद्योगलाई लक्षित गरी औद्योगिक ग्राम नारायण नगरपालिका–१ मा स्थापना हुने भएको हो।

घरेलु तथा साना उद्योग विकास समिति तथा नारायण नगरपालिकाको सहकार्यमा औद्योगिक ग्राम स्थापना हुन लागेको हो। लघु उद्यमी समूह संघ, दैलेखका अध्यक्ष झवि खत्रीका अनुसार औद्योगिकग्राम स्थापना अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा औद्योगिकग्राममा १० वटा उद्योग स्थापना गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो। औद्योगिक ग्राममा हाते कागज, दालमोठ, अल्लो प्रशोधन, सिस्नो प्रशोधन, बाँस मुढा, दूध डेरी, दुना टपरीलगायतका उद्योग स्थापना हुने तथा तालिम सेन्टर पनि सञ्चालन गरिने छ।

त्यसैगरी औद्योगिक ग्राम स्थापनामा नारायण नगरपालिका तथा वडाले सहयोग गर्ने वडा नं. १ का अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताउनुभयो। उहाँले औद्योगिक ग्राम स्थापनाले जिल्लालाई औद्योगिक क्षेत्रको विकासमा टेवा पुग्ने र औद्योगिक क्षेत्रको दीर्घकालीन सञ्चालनमा नगरपालिकाले आवश्यक पूर्वाधारमा सहयोग पुर्याउने दाबी दिनुभयो। उहाँले जिल्लामा कृषिजन्य तथा वनजन्य उद्योग स्थापना हुनुपर्नेमा जोड दिनुभयो। जिल्लालाई सम्मुनत बनाउन र रोजगारी सिर्जना गर्न उद्योग स्थापना नै मुख्य काम भएको श्रेष्ठको बुझाइ रहेको छ।

औद्योगिक ग्रामका लागि नारायण नगरपालिकाले जग्गा उपलब्ध गराइसकेकोले छ। ग्राम जिल्लास्थित आत्मनिर्भर लघु उद्यम सहकारी संस्था लिमिटेड, नारायण नगरपालिका र जिल्ला लघु उद्यमी समूह संघले सञ्चालन गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्