सेल्फीका कारण अपराधी पक्राउ



टोरन्टो, (एजेन्सी)
क्यानाडाकी एक महिला सामाजिक सञ्जालमा राखिएको एउटा सेल्फी तस्वीरको कारण आफ्नै साथीको हत्याको अभियोगमा प्रहरीको फन्दामा परेकी छिन्। प्रहरीले सो सेल्फीमा हत्यामा प्रयोग गरिएको हतियार देखेपछि अनुसन्धानलाई बल पुगेको थियो।

दुई वर्षअघि क्यानाडामा १८ वर्षीया साथी बिटनी ग्यारर्गोलको हत्या गरेको अभियोगमा अदालतले २१ वर्षीया चेएन्ने रोज एन्टोइनलाई दोषी ठहर गरेको छ। सास्कात्चेवानको सास्कातुनस्थित एउटा ल्यान्डफिल्डनजिक घाँटी थिचेर मारिएको अवस्थामा ग्यारर्गोलको शव फेला परेको थियो। शवनजिकै एन्टोइनको पेटी भेटिएको थियो।

हत्याको अभियोगमा एन्टोइनलाई सात वर्ष लामो कारावास सजाय सुनाइएको छ। ग्यार्गोल मारिएको केही घण्टा अघिमात्र उनीसँग सोही पेटी लगाएर खिचिएको तस्वीर फेसबुकमा राखेकाले उनी सजिलैसँग पक्राउमा परेकी हुन्।

शुरूमा उनले सो घटनाका बेला आफू अकैं साथीको घरमा रहेको कहानी सुनाएर ढाँट्न खोजेकी थिइन्। तर पछि उनले रक्सीको नशामा विवाद हुँदा पिटेर घाँटी अठ्याई ग्यारर्गोलको हत्या गरेको स्विकारेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्