साँढे जुधाइ खेलमा पाँच मारिए



चेन्नाइ, (एजेन्सी)
दक्षिण भारतीय राज्य तमिलनाडुमा स्थानीय भाषामा ‘जाल्लीकात्तु भनिने साँढे जुधाइ हेरिरहेका ५ जनाको साँढेको प्रहारका कारण मृत्यु भएको बुधबार प्रहरीले जनाएको छ। यस विवादास्पद खेलको दौरान हजारौं युवक साँढेको तीखा सिङमा बाँधिएको पुरस्कार थुत्ने जोखिम उठाउने गर्दछन्।
जनावरमाथि निर्मम व्यवहार हुने गरेको आधारमा सन् २०१४ मा भारतको सर्वोच्च अदालतले जाल्लीकात्तुमाथि प्रतिबन्ध नै लगाएको थियो। तर उक्त राज्यभरि नै यस प्रतिबन्धविरुद्ध व्यापक जनआवाज उठ्न थालेपछि सरकारले अन्ततः प्रतिबन्ध हटाएको थियो।

दुई वर्षपछि यसपालि निकै धुमधामसँग यो खेलको आयोजना गरिएको हो। सरकारी अधिकारीहरूले मंगलबार भएको उक्त घटनामा अन्य कम्तीमा साठी जना घाइते भएको बताएका छन्। यस प्रतियोगितामा अहिलेसम्ममा धेरै व्यक्तिको अकालमा ज्यान गइसकेको छ।

यस प्रतियोगितामा सयौं संख्यामा दर्शकहरू पनि घाइते हुने गरेका छन्। जनावर अधिकारवादीहरूले खुला चौरमा छोडिएका साँढेहरूलाई भिडले बिनाकारण जिस्काउँदै लखेट्दै आक्रोसित पार्नु अनावश्यक काम भएको प्रतिक्रिया दिएका छन्। तर सरकारले सफाइमा सांस्कृतिक परम्परा र स्थानीय नश्लका साँढेहरूको महत्त्वलाई जोगाइराख्न पनि यो खेलको आवश्यकता रहेको जनाएको छ। यो खेल २ हजार वर्षभन्दा पुरानो मानिन्छ।

प्रतिक्रिया दिनुहोस्