सीआईईएस सूचीको शीर्षमा नेयमार



कविरस शर्मा

ब्राजिलका नेयमार जुनियर विश्वको सबैभन्दा महँगा फुटबलर हुनुका साथसाथै मोस्ट भ्याल्युएबल फुटबलर पनि बनेका छन्। गत साता अन्तर्राष्ट्रिय खेल जगत्को विश्लेषण गर्ने स्विजरल्यान्डको संस्था सीआईईएस (इन्टरनेसनल सेन्टर फोर स्पोर्ट्स स्टडिज) ले एउटा सूची जारी गरेको थियो। जसमा ब्राजिलियन खेलाडी नेयमारले पहिलो स्थान ओगट्न सफल भएका हुन्। यस्तै अर्जेन्टिनाका लियोनल मेसी दोस्रो र इंग्ल्यान्डका ह्यारी केन तेस्रो स्थानमा रहेका छन्। जब कि पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो मोस्ट भ्याल्युएबल फुटबलर सूचीको ४९औं स्थानमा चिप्लिएका छन्। उक्त सूचीमा परेका क्लियन बाप्पे सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।

सीआईईएस मोस्ट भ्याल्युएबल फुटबलरको सूची हरेक वर्षको जनवरीमा जारी गरिन्छ। जसमा युरोपका ३१ उच्च डिभिनजनको घरेलु लिगमा खेल्ने फुटबलरलाई उनीहरुले गरेको प्रदर्शनको आधारमा स्थान दिइन्छ। प्रायः इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, जर्मन बुन्डेसलिगा र फ्रेन्च लिग वान गरी युरोपका ५ उत्कुष्ट क्लब पहिलो प्राथमिकतामा पर्ने गर्दछन्। लिगमा गरिएको प्रदर्शन, खेलाडीको उमेर, करार अवधि र ट्रान्सफर भ्याल्यु (स्थानान्तरण रकम) लाई प्रमुख आधार बनाई सूची तयार पारिन्छ।

यसपटक २५ वर्षीय नेयमार सबैभन्दा बढी करार रकम, कम उमेर र आफ्नो प्रदर्शनका कारण सूचीको शीर्ष स्थानमा परेको हो। बार्सिलानाबाट फ्रान्सेली क्लब पीएसजी भित्रँदा उनको करार २ सय २२ मिलियन युरोमा भएको थियो। तर, हालै जारी गरिएको सूचीको आधारमा भने उनको ट्रान्सफर भ्याल्यु २ सय १३ मिलियन युरो तोकिएको छ।

अर्कातिर नेयमारको पूर्वक्लब बार्सिलोनाबाट खेल्ने अर्जेन्टिनाका लियोनल मेसीको ट्रान्सफर भ्याल्यु २ सय २.२ मिलियन युरो तथा टोटनह्याम हट्सपोरका ह्यारी केनको ट्रान्सफर भ्याल्यु १ सय ९४.७ मिलियन तोकिएको छ। ह्यारी केन र मेसी सन् २०१७ को युरोपियन लिगका सर्वाधिक गोलकर्तासमेत हुन्। मेसीबाहेक बार्सिलोनाबाट खेल्ने ९६ मिलियन युरोका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेन र १ सय १ मिलियन युरो ट्रान्सफर भ्याल्युका डिफेन्डर सामुएल उम्टिटी क्रमशः गोलरक्षक र डिफेन्डरका रूपमा सबैभन्दा अगाडि छन्।

गत डिसेम्बरमा रियल मेड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो सन् २०१७ को फुटबलर अफ द इयर चुनिए। यसका बाबजुद उनी यस सूचीको ४९औं स्थानमा पुगेका छन्। यद्यपि सीआईईएसले भने सो सूची पूर्ण वैज्ञानिक विश्लेषणको आधारमा तयार पारेको ठोकुवा गरेको छ। ३२ वर्षीय रोनाल्डो सूचीको उत्कृष्ट ५० भित्र पर्ने ३० वर्ष नाघेका एक्लो फुटबलर हुन्। उनी उक्त सूचीको उत्कृष्ट १ सयभित्र पर्ने खेलाडीमध्ये सबैभन्दा पाकासमेत बनेका छन्। उत्कृष्ट सयभित्र उनीसँगै ३० वर्ष नाघ्नेमा इटालियन सिरी ए क्लब रोमाका एडिन जेको र म्यानचेस्टर सिटीका डेभिङ सिल्भा रहेका छन्। रियल मेड्रिडसँग उनको करार सन् २०२१ सम्म रहेको छ। तर, बढी उमेरका कारण उनको ट्रान्सफर भ्याल्यु ८०.४ मिलियन युरोभन्दा बढी राखिएको छैन। तथापि उनको प्रदर्शन अझै पनि चरमोत्कर्षमा नै रहेको छ। उनी सन् २०१७ को फिफा उत्कृष्ट पुरुष खेलाडी र बालोन डे ओर अवार्डका विजेतासमेत हुन्। जारी सूचीको उत्कृष्ट ५० मा उनले मोनाकोबाट खेल्ने फाबिन्हो ताभारेसलाई मात्र पछि पारेका छन्।

जारी सूचीमा इंग्लिस प्रिमियर लिगका ५ खेलाडी शीर्ष १० भित्र परेका छन्। १ सय ९४.७ मिलियन युरोसहित तेस्रो स्थानमा परेका टोटेनह्याम हटस्पोरका ह्यारी केनलगायत छैटौंमा डेले अल्ली (१ सय ७१.३ मिलियन युरो), सातौंमा केभिन डे ब्रुएने (१ सय ६७.८ मिलियन युरो), आठौंमा रोमेलु लुकाकु (१ सय ६४.४ मिलियन युरो) र दसौं स्थानमा पाउल पोग्बा (१ सय ४७.५ मिलियन युरो) रहेका छन्।
यस्तै फ्रान्सका १९ वर्षीय क्लियन बाप्पे चौथो स्थानमा छन्। सूचीको उत्कृष्ट ५० मा पर्ने उनी सबैभन्दा कान्छो उमेरका खेलाडीसमेत हुन्। १ सय ९२.५ मिलियन युरो ट्रान्सफर भ्याल्यु तोकिएको बाप्पे फ्रान्सेली क्लब पीएसजीमा आबद्ध छन्। पाँचौं स्थानमा भने इटालियन सिरी ए च्याम्पियन युभेन्टस्का २४ वर्षीय पाउलो डिबाला रहेका छन्। उनको ट्रान्सफर भ्याल्यु १ सय ७४.६ मिलियन युरो तोकिएको छ। यसै गरी स्पेनिस क्लब एट्लेटिको मेड्रिडका फ्रेन्च स्ट्राइकर एन्टोनी ग्रिजम्यान १ सय ५०.२ मिलियन युरो ट्रान्सफर भ्याल्युसहित नवौं स्थानमा छन्। युरोपको पाँचमध्ये अर्को ठूलो लिग जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिखबाट खेल्ने पोल्यान्डका रोबर्ट लेवान्डोस्की भने सूचीको २१औं स्थानमा छन्। उनको ट्रान्सफर भ्याल्यु १ सय ७ मिलियन युरो रहेको छ।

प्रतिक्रिया दिनुहोस्