ग्लोबल वार्मिङको असर दौडमा



फिरोज राजोपाध्याय

ग्लोबल वार्मिङको नकारात्मक असर विश्वभरि फैलिरहेको छ। यसको नराम्रो असर हाम्रो मानव जीवनमा यति धेरै भइसकेको छ कि यसले गर्दा कठिन स्थिति आएको छ। यसको ठूलो असर खेलकुदमा पनि हुने वैज्ञानिकहरुले अनुमान लगाएका छन्। वैज्ञानिकले भनेअनुसार म्याराथन र छोटो वा लामो दूरीको दौडमा कुनै नयाँ विश्व कीर्तिमान बन्ने छैन। उनीहरुले नयाँ कीर्तिमान बन्ने कम सम्भावना हुनुका कारण यही ग्लोबल वार्मिङलाई ठम्याएका छन्।

दौडमा शारीरिकरूपमा बलियो हुनुपर्ने हुन्छ। प्रदर्शनमा सुधार ल्याउन शारीरिक क्षमताले दिँदैन। किनभने कुनै पनि तापमानमा मानव शरीरले सबैभन्दा राम्रो प्रदर्शन गर्ने क्षमता ग्लोबल वार्मिङले गर्दा त्यो माथि पुगिसकेको छ। अहिले जति पनि म्याराथन र दौडमा जति कीर्तिमान राखेका छन्। त्यसलाई शारीरिक क्षमताले तोड्न नसक्ने भइसकेको छ। डोपिङ या अन्य प्रविधिको सहयोग भएमा मात्र नयाँ–नयाँ कीर्तिमान बन्दै जाने वैज्ञानिकहरुले निष्कर्ष निकालेका छन्।

वैज्ञानिक र विशेषज्ञहरुले २० वर्षको दौरानमा न्युयोर्क, लन्डन, सिकागो, बोस्टन, बर्लिन र ओलम्पिकमा आयोजित भएको ९ सयभन्दा बढी म्याराथनमा ४७ लाख समापन समयको विश्लेषण गरेका हुन्। त्यसमा यो तथ्य अगाडि आयो कि म्याराथनमा लागेको समय बढेर गएको छ। त्यसैले अहिले विश्वमा बढिरहेको तापमानले गर्दा खेलाडीले आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्दैनन्।

यसै वर्ष लन्डनमा आयोजित एथ्लेटिक्स वल्र्ड च्याम्पियनसिपमा एउटा मात्र कीर्तिमान बन्नु पनि वैज्ञानिकहरुले यही ग्लोबल वार्मिङलाई कारण ठहराएका छन्। त्यो पनि ५० किलोमिटरको दौडमा कीर्तिमान निर्धारण भएको थियो। २०१६ रियो ओलम्पिकमा पनि दुई वटा पुरानो कीर्तिमानमा सुधार भएका छन्। दक्षिण अफ्रिकाका वेड वैन निकर्कले पुरुषतर्फको ४ सय मिटर दौडमा र इथियोपियाका अलमाज अयानाले महिलातर्फ १० हजार मिटर दौडमा नयाँ कीर्तिमान राखेका थिए। अरू इभेन्टमा नयाँ कीर्तिमान बनेनन्।

नयाँ कीर्तिमान हुँदैन
सन् २००७ मा फ्रान्सको इन्स्टिच्युट आफ स्पोर्टस् बायोमेडिकल रिसर्च एन्ड एपिडेमियोलोजीका शोधकर्ताहरुले पहिलो ओलम्पिकदेखि अहिलेसम्मको ओलम्पिक कीर्तिमानबारे अध्ययन गरे। यसमा के कुरा आयो भने मान्छेको शरीरबाट प्राकृतिकरूपले जतिले कीर्तिमान राख्न सके त्यति राखिसकेका छन्। खेलाडीले ९९ प्रतिशत गरिसकेका छन् कि अब नयाँ कीर्तिमान बनाउन ज्यादै कठिन कार्य हो।

डोपिङको डर
म्याराथनमा मौसम र शरीरबाहेक पनि अरू विभिन्न तीन प्रमुख शारीरिक तत्त्व हुन्छन्। वैज्ञानिकका अनुसार ती तीन तत्त्व धावकको सहनशीलता, उनीहरुको अक्सिजनबाट ऊर्जा निकाल्ने क्षमता तथा ऊर्जा जम्मा गर्ने शरीरको क्षमता हुन्। वैज्ञानिकहरुले भनेअनुसार समयको साथ यी तीन तत्त्वले धावकको स्तरमा गिरावट आउनेछ। यसलाई आकार दिन उनीहरुले डोपिङको सहारा लिने पक्का छ भनी उल्लेख गरिएको छ। यो डोपिङ गर्ने भनेको खेलकुदमा अमानवीय र अनुशासनहीन पनि हो। भविष्यमा यसैको खतरा हुने उनीहरुले बताएका छन्।

‘बोल्ट जस्ता धावक आउनुपर्छ’
यसै सन्दर्भमा खेलकुद विज्ञ दिवाकरलाल अमात्यले पनि ग्लोबल वार्मिङले असर त गर्छ तर अरू कारण पनि दर्शाउनुभएको छ। अमात्यले नेपाल समाचारपत्रलाई बताउनुभयो– ‘तापमान वृद्धिले पक्कै पनि खेलाडीको प्रदर्शनमा असर पर्छ। जति तापमान बढ्छ त्यति नै खेलाडीको क्षमतालाई निस्क्रिय बनाउँछ। दौड भएकाले यसमा खेलाडीले राम्रो प्रदर्शन गर्न केही चिसो हुनु आवश्यक छ।’ उदाहरणका लागि बर्लिनमा भएको वल्र्ड च्याम्पियनसिपमा कुनै कीर्तिमान बनेन।

अमात्यले यसबाहेक खेलाडीको प्रदर्शन उच्च बिन्दुमा पुगिसकेकाले पनि नयाँ कीर्तिमान बन्ने कमै सम्भावना रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘जति पनि कीर्तिमान बन्यो त्यो एउटा उच्च बिन्दुमा पुगिसकेको छ। यसलाई तोड्न उसेन बोल्ट जस्ता धावक आउनुपर्छ। नत्र सकिँदैन।’

नेपालको सन्दर्भमा यसको के प्रभाव हुन्छ भनेर सोद्धा उहाँले बताउनुभयो– ‘नेपाली धावक–धाविकाको प्रदर्शन माथि उठ्न सकेको छैन। मुख्यतया नेपालमा ट्रइक पनि राम्रो छैन। नेपाली खेलाडीको प्रदर्शन मात्र किन एसियाका खेलाडीले पनि ओलम्पिक र वल्र्ड च्याम्पियनसिपमा राम्रो गर्न सकिरहेका छैनन्।’

प्रतिक्रिया दिनुहोस्