एनसेल बिक्री प्रकरण… टेलियाद्वारा कर तिर्ने अल्टिमेटमको उपेक्षा, स्वीडेनमै पुगेर भए पनि उठाउँछौंः ठूला करदाता कार्यालय



रोविन पौडेल, काठमाडौं

ठूला करदाता कार्यालयले एनसेल बिक्रीवापतको लाभकर तिर्न दिएको १५ दिने अल्टिमेटम बुधबार सकिएको छ। समय सीमा सकिँदा पनि लाभकर तिर्न बाँकी रहेको टेलिसोनेरा कम्पनीले कुनै प्रतिक्रिया नदिएको ठूला करदाता कार्यालयले जनाएको छ।

कार्यालयले तोकेको समयमा स्वीडेनको उक्त कम्पनीले कर चुक्ता नगर्नाले निर्देशनको उपेक्षा भएको कार्यालयले ठहर गरेको ठूला करदाता कार्यालय प्रमुख गंगाराम गेलालले बताउनुभयो। कार्यालयले पुस १९ गते अंग्रेजीमा सूचना प्रकाशित गर्दै तिर्नुपर्ने ६५ अर्ब रुपियाँभन्दा बढी बक्यौताको रूपमा रहको पुँजीगत लाभकर चुक्ता गर्न १५ दिने समय सीमा तोकेको थियो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै गेलालले एनसेल बिक्रिवापतको बक्यौता रकम उठाउने विषयमा कुनै प्रगति नभएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘कार्यालयले निर्दिष्ट गरेको समय सीमामा सो कम्पनीले बेवास्ता गरेको देखिएको छ। यसअघि पनि पटकपटक पत्राचार तथा सूचना प्रकाशित गर्दै कर भुक्तानी गर्न ताकेता गरिए पनि कम्पनीले अटेर गरेको थियो। अब कडा रूपमा प्रस्तुत हुनु बाहेक कुनै विकल्प छैन।’

एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया सोनेरा कम्पनीको स्वीडेनस्थित मुख्यालयको नाममा कर कार्यालयले १५ दिनअघि कार्यालयले सूचना जारी गरेको थियो। सूचनामा तोकिएको समयभित्र कर भुक्तानी नगरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ ले भने बमोजिमका प्रक्रिया अबलम्वन गरी कर असुल उपर गर्न कर कार्यालय बाध्य हुने कार्यालयले जनाएको थियो। यसअघि पनि कार्यालयले ७ महिनाअघि टेलियालाई एनसेल बिक्रीवापतको लाभकर तिर्न पत्राचार गरेको गेलालले जानकारी दिनुभयो।

गेलालले भन्नुभयो– ‘कार्यालयको अल्टिमेटमलाई सो कम्पनीले उपेक्षा गरेको हाम्रो बुझाइ छ। पुँजीगत लाभकरको बक्यौता रकम नतिरे सो कम्पनीसँग सम्बन्धित हरेक व्यक्तिलाई कारबाही गर्न ठूला करदाता कार्यालयले कुनै कसुर बाँकी राख्दैन।’ सो कम्पनीबाट लाभकर चुक्ता गराउन अप्ठेरो परिरहेको अवस्थामा कार्यालय टेलिया सोनेराको नाममा स्वीडेन र नेपाल दुवै देशको अदालतमा मुद्दा चलाउने तयारी छ। उहाँले भन्नुभयो– ‘नेपाली भाषामा सूचना जारी गर्दा कम्पनीले अटेरी गरेकाले हामीले अंग्रेजीमा सूचना जारी गरेका हौं। अहिले सूचना जारी गर्दा पनि अटेरी गरेको छ। हाम्रो अर्को विकल्प भनेको स्वीडेनका पत्रिकामा स्वीडिस र अंग्रेजी भाषामा सूचना निकाल्ने हो। त्यसबाट पनि कुने सीप नचले कानुनले निर्दिष्ट गरेअनुसार नेपाल र स्वीडेन दुवै देशको अदालतमा मुद्दा चलाउने छौं।’

कार्यालयका अनुसार कार्यालयको प्रतिनिधिमण्डल स्वीडेनमै पुगेर त्यहाँका उच्चपदस्थ सरकारी अधिकारी तथा टेलियाका उच्चकर्मचारीसँग वार्ता गरेर करबारे सम्झाउने, बुझाउने मनस्थिति बनाएको छ। कार्यालय तथा नेपाल सरकारका लागि यति ठूलो रकमको कर उठाउने यो पहिलो अवसर भएको कार्यालयको दाबी छ। कम्पनीले नेपालको कर प्रणालीको नीतिगत कमजोरी पत्ता लगाउँदै अनेक चोरबाटो अपनाउने, उच्च राजनीतिक पहुँचको प्रयोग गर्नेलगायत काम गरेको कार्यालय प्रमुख गेलालको दाबी छ।

टेलिया सोनेरा टेलिकम्युनिकेसनबाहेक नेपालमा कुनै कारोबार नगर्ने कम्पनी हो। यसको कारोबार विषयमा उठेका सवाल नेपालका कुनै कानुनी तथा भौतिक दायरामा पर्दैन। कम्पनीले नयाँ प्रविधि अपनाउने तथा विदेशी लगानीबाट सञ्चालित कम्पनी भएकाले यसले बेइमानी गर्ने गरेको ठूला करदाता कार्यालयले जनाएको छ। सरकारले डेनमार्कस्थित नेपाली दूतावासलाई पनि कर असुलीका लागि स्वीडेनमा कूटनीतिक पहल गर्न हालसालै निर्देशन दिइसकेको कार्यालयका एक कर्मचारीले बताए।

अनेक उपाय लगाउँदा पनि कुनै सीप नचले कार्यालयले सो कम्पनीसँग सम्बन्धित जोकोहीलाई नेपालमा कुनै कारोबार गर्न नपाउनेसम्मको कारबाही गर्ने भएको हो। कार्यालयको अनुसार सो कम्पनीसँग सम्बन्धित कोही व्यक्ति नेपाल आउने वित्तिकै समातेर प्रहरीलाई बुझाउने गरी कारबाही गरिनेछ। यसका लागि कार्यालयले अध्यागम विभागसँग समन्वय गर्नेछ। त्यस्तै उनीहरूको सम्पत्ति तथा नेपालका अन्य क्षेत्रमा गरेको लगानीबारे अध्ययन तथा छानविन गर्न कम्पनी रजिस्टार कार्यालय, उद्योग विभाग तथा सरोकारवाला सबै निकायसँग समन्वय गर्ने कार्यालयको योजना रहेको छ।

कार्यालयले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई पुस १८ गतेसम्मको चुक्ता गर्न बाँकी ६५ अर्ब ४० करोड रुपियाँ कर तिर्न सूचना जारी गरेको थियो। २०७२ चैतमा टेलिया सोनेरालाले मलेसियाको एक्जियाटालाई एनसेलको स्वामित्व हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्