तयारी तीव्र



सुनील महर्जन, काठमाडौं
यही माघ २४ गतेका लागि राष्ट्रियसभाको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको निर्वाचन आयोगले त्यसको तयारी तीव्र बनाएको छ।

यसैक्रममा आयोगले बिहीबार निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीका लागि ‘निर्वाचन सञ्चालन र व्यवस्थापन प्रशिक्षण’ कार्यक्रम आयोजना गरेको थियो।

प्रशिक्षणमा आयोगका सहसचिव नवराज ढकालले ‘राष्ट्रियसभा सदस्य निर्वाचनको सैद्धान्तिक पक्ष’, सहसचिव सुशील कोइरालाले ‘राष्ट्रियसभा सदस्य निर्वाचनको कानुन, निर्वाचन तालिका र आचारसंहिता’ र सहसचिव दिनेशकुमार घिमिरेले ‘मतदान र मतगणनालगायत’का विषयमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणमा मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीका जिल्ला न्यायाधीशसहित २३ जनाको सहभागिता रहेको थियो।

आयोगले यसअघि नै दलहरूसँग निर्वाचनका लागि उम्मेदवारको मनोनयनको औपचारिक पत्रमा प्रयोग गरिने हस्ताक्षरको नमुना मागिसकेको छ। उक्त निर्वाचनमा भाग लिन २१ दलले आयोगमा नाम दर्ता गरेका छन्।

यसै गरी सातै प्रदेशका उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृत कार्यालय स्थापना र मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिसकेको छ।

प्रदेश तहमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आवश्यकताअनुसार १० देखि १२ जना कर्मचारी खटाइसकिएको जनाइएको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश तहमा पनि निर्वाचनको व्यवस्थापन कार्य गरिएको छ। उहाँले निर्वाचनपछि मतगणना कार्य जटिल हुने भएकाले गणनालाई सहयोग गर्न र सहज बनाउन केन्द्रले सातै प्रदेशमा प्राविधिक टोली पनि खटाउने जानकारी दिनुभयो।

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि १० देखि १५ करोड रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको छ। निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि निर्माण, राजनीतिक दल, उम्मेदवार र मतदातालाई मतदाता शिक्षाबारे तालिम र प्रशिक्षण दिने, मतपत्र छाप्ने, ढुवानी गर्ने, मतदान केन्द्र निर्धारण र मतगणना गर्नेलगायत कार्यबारे योजना बनाइरहेको प्रवक्ता ढकालले बताउनुभयो।

उहाँका अनुसार एकल संक्रमणीय र बहुमतीय निर्वाचन दुवै प्रणालीबमोजिम हुने निर्वाचनमा मतदान प्रक्रिया, मतगणना र मतभारका विषयमा २ हजार ५६ मतदातालाई प्रादेशिकरूपमा तालिम र प्रशिक्षण दिनेसमेत तयारी भइरहेको छ। आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक, १० गते उम्मेदवारी मनोनयन र १५ गते चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम छ।
सो निर्वाचनमा स्थानीय तहका पदाधिकारी र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र बनाइनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचनमा १२ हजार थान मतपत्र छपाइ हुनेछ। यसका लागि चारखाले मतपत्रको ढाँचाको तयारी भइरहेको आयोगले जनाएको छ। राजनीतिक दलसँग छलफल गरी माघ १५ गतेपछि मतपत्रको नमुना तयार गरिने बुझिएको छ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको मतपरिणाम ३ दिनभित्र सार्वजनिक गर्ने आयोगले जनाएको छ। मतपरिणाम सार्वजनिक भएसँगै प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड शुरु गर्ने बताइएको छ। त्यसको सातदेखि १० दिनभित्र अर्थात् (फागुन ७ देखि १० गते) सम्ममा प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुन सक्ने आयोगको अनुमान छ। संविधानमा राष्ट्रिय सभाको मत सार्वजनिक नभएसम्म प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न नहुने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्