चैनपुरको बजेट रु ३९ करोड



 

संखुवासभा। चैनपुर नगरपालिकाको प्रथम नगरसभाले आव २०७४÷०७५ का लागि रु ३८ करोड ८० लाख ३४ हजार ६७१ को बजेट सार्वजनिक गरेको छ ।

‘समृद्ध, सुसंस्कृत, सुन्दर हराभरा चैनपुर नगर’ भन्ने नाराका साथ आज आयोजित नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा रणनीतिक योजनालाई प्राथमिकता दिँदै सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटिएको छ ।

परिषद्को उद्घाटन गर्दै नवनिर्वाचित सांसद राजेन्द्रप्रसाद गौतमले नगरपालिकाको समृद्धि र विकासका लागि आफू हमेशा लागिपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभाका नवनिर्वाचित सदस्य तुलसीप्रसाद न्यौपानेले एकीकृत नगर गुरुयोजना तयार गरी अगाडि बढ्न सके नगरलाई समृद्धिको दिशातर्फ अघि बढाउन सकिने बताउनुभयो ।

नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले नगरपालिकाको समग्र विकास गर्न विकास तथा धार्मिक र पर्यटक सम्मेलन गरिने बताउनुभयो । उपप्रमुख मुना श्रेष्ठले नगरको समृद्धि र विकासका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । जिल्ला न्यायाधीश प्रकाश राउत, प्रजिअ शिवराज जोशी, जिल्ला समन्वय समितिका संयोजक सुमन शाक्यलगायतले पनि शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्