‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’



 

त्रिशूली। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशीविदेशी शक्ति सक्रिय भइरहेको विचार व्यक्त गर्नुभएको छ ।

बेलकोटगढी नगरपालिका–९ नलगाउँमा करुणाकर प्राविको २२ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै नेता पाण्डेले ‘वाम गठबन्धनबाट प्रतिष्पर्धी दलमात्र नभई विदेशी शक्ति पनि आत्तिएकाले पार्टी एकतालाई असफल बनाउन सक्रिय भएको’ जिकिर गर्नुभयो ।

पूर्वपरराष्टमन्त्री पाण्डेले जसले जस्तो खेल खेले पनि एमाले र नेकपा(माओवादी केन्द्र)बीच एकता भएरै छाड्ने बताउनुभयो । “निर्वाचनमा हामी एक भएर मैदानमा गएका थियौंँ, जनताले हाम्रो एकतालाई विश्वास गरी मत दिइसकेका छन्, अब नागरिकसँग पार्टी एक हुने वाचा गर्दै मागेको मतको कदर हुन्छ”, उहाँले भन्नुभयो ।

नेता पाण्डेले अहिलेको आवश्यकता आधुनिक र जीवनोपयोगी शिक्षा भएको बताउँदै युवाको विदेशिने ताँतीलाई रोक्नका लागि आधुनिक र प्राविधिक शिक्षाको खाँचो औँल्याउनुभयो ।

कार्यक्रममा विद्यालयमा लामो समय अध्यापन गरी उमेर हदको कारण अवकाश लिनुभएका प्रअ राजदेव रायसहित विद्यालयमा विभिन्न योगदान पु¥याउने १४ जनालाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरकुमार गजुरेल, नगरपालिकाका उपप्रमुख कविता ढु्ंगानालगातयले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्