थामखर्क विमानस्थल कालोपत्र सुस्त गतिमा



 

खोटाङ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी कालोपत्र थालिएको थामखर्क विमानस्थलको काम सुस्त गतिमा भइरहेको छ ।

विमानस्थल कालोपत्रको अहिलेसम्म ३५ प्रतिशतमात्र काम सम्पन्न भएको निर्माणस्थलमा खटिनुभएका फिल्ड सुपरभाइजर दानबहादुर श्रेष्ठले बताउनुभयो ।

उडान शुरु गरेको १८ वर्षसम्म कालोपत्र हुन सकेको थिएन । थामखर्क विमानस्थलमा रौता कन्स्ट्रक्सन कम्पनीले २०७३ माघदेखि कालोपत्र शुरु गरेको हो भने २०७५ असार मसान्तसम्म सम्पन्न गर्ने गरी जिम्मा लिएको हो । विमानस्थल निर्माणमा अहिले १५ जना कामदारले मात्र काम गरिरहेका छन् ।

विसं २०५६ बाट उडान शुरु भएको थामखर्क विमानस्थल कालोपत्रको काम ठेकेदारको लापरबाहीका कारण सुस्त गतिमा भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु नौ करोड ३८ लाख ६८ हजार लागतमा उक्त विमानस्थलको धावन मार्ग कालोपत्र भइरहेको छ ।

कालोपत्रको काम छिटो सम्पन्न गर्न दबाब दिँदै आएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताउनुभयो । कालोपत्रका लागि विमानस्थलको धावन मार्गमा ढुंगा तथा गिटी थुपारिएपछि उक्त विमानस्थलमा नौ महिनादेखि हवाई सेवा अवरुद्ध छ । विमानस्थल कालोपत्र भएपछि जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दासँगै भोजपुरका सर्वसाधारणले समेत सेवा पाउने छन् । नियमित हवाई सेवा सञ्चालन भए काठमाडौँलगायत तराईका विभिन्न जिल्लासम्म आवतजावत गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्