छोड्नुस शंका



चुनावको समयमा खर्च नगर्ने नेता त के नेता ? खर्च नगर्नेहरू त नेताको परिभाषाभित्रै अटाउँदैनन्। त्यसैले त अस्ति मंसिरको प्रदेश र प्रतिनिधिसभाको चुनावमा खर्च गर्ने नेताहरूको ठूलै प्रतिस्पर्धा थियो। ‘पैसाको खोलो बगाए पनि फलानाले हार्यो, हार्न हुन्नथ्यो, विचरा !’ –यस्तै कृतिम सान्त्वनाका स्वर पनि पर्याप्त सुनियो।

अनि चुनावमा हार्ने निश्चित भएकाहरूले पनि आफ्नो गच्छेअनुसार खर्च गरेको धरहराले देखेकै हो। त्यही प्रसंग सम्झाउने गरी अहिले उम्मेवारहरूको खर्च सार्वजनिक भएको छ। निर्वाचन आयोगले प्रदेशतर्फका उम्मेदवारलाई अधिकतम १५ लाख र प्रतिनिधिसभाका उम्मेदवारलाई २५ लाख रुपियाँ चुनावी खर्च गर्न पाइने व्यवस्था तोकेको थियो।

तर धेरैले अनुमान गरेभन्दा उम्मेदवारहरू यसपटक धेरै मितव्ययी बनेको विवरण सार्वजनिक भएको छ। केही थोरै नेताको खर्च १५ र २५ लाखका हाराहारीमा भएको देखिए पनि धेरै नेताको त तोकिएको हदभन्दा आधा कम देखिन्छ। अनि भएनन् त मितव्ययी ? त्यसैले चुनाव पैसाले मात्रै जितिने होइन रहेछ, निर्वाचनको जित हार न त नेताको प्रोफाइलमा भर पर्ने रहेछ भन्ने कुरा विवरणले पुष्टि गरेको छ।

त्यसैले अब आइन्दा ‘फलानाले लाखौं खर्च गर्या हो, फलनाले त झन् करोडौं खर्च गर्या थियो, उसले पैसाको खोलो बगाएर मात्र जित्या हो’, भन्न छोड्नुस्, छोड्नुस अनेका शंका। हैन भने नेताले गरेको खर्चको बिलप्याडसहित आयोगमा उजुरी गर्नुस्।

प्रतिक्रिया दिनुहोस्